काठमाडौं महानगरपालिकामा बजार अनुगमन तीव्र पारिने
कपन अनलाइन
काठमाडौं ,चैत ९।
कोरोना भाइरस (कोभिड — १९) संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि चैत ६ गते बसेको काठमाडौं महानगरको कार्यपालिका बैठकका निर्णय कार्यान्वयनको अवस्थालाई महानगरकै ‘अनुगमन तथा सुपरीवेक्षण समिति’ले अनुगमन गर्ने भएको छ । आज उपप्रमुख एवं समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले अनुगमनलाई आन्तरिक र वाह्य गरी दुई कोणबाट हेर्ने निर्णय गरेको छ ।
बैठकपछि उपप्रमुख खड्गी श्रेष्ठले कार्यपालिकाको बैठकले गरेको निर्णय कार्यान्वयनको अवस्थालाई आन्तरिक अनुगमनका रुपमा अगाडि बढाउँछौं भने बजारमा औषधिजन्य तथा दैनिक उपभोग्य बस्तुको उपलब्धता, मुल्य र गुणस्तरजस्ता बिषयलाई बाह्य अनुगमनका रुपमा अगाडि बढाउने जानकारी दिएकी छन ।
बैठकमा प्रशासन बिभागका प्रमुख नमराज ढकालले बिभागले तयार पारेको १२ बुँदे निर्णय कार्यान्वयन कार्ययोजना प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गर्नुभएको कार्ययोजना अनुमोदन गर्दै बैठकले यसैबमोजिम अनुगमन तथा सुपरीवेक्षण कार्य अघि बढाउने निर्णय गरेको थियो । बिभागका प्रमुख ढकालकाअनुसार बिभागतर्फ बित्त र प्रशासन बिभाग, सूचना तथा सञ्चार र सहरी स्वास्थ्य महाशाखासँगै जिन्सी शाखाबाट निर्णय कार्यान्वयन हुनेछ ।
यससँगै अत्यावश्यक सेवाअन्तर्गत सेवा दिइरहेका वातावरण व्यवस्थापन, दमकल, एम्बुलेन्स, सूचना तथा सञ्चारतर्फका कामहरु पनि अनुगमन गरिनेछन् ।
कार्ययोजनाअनुसार बित्त बिभागले वडामा बजेट निकासा दिने काम गर्नुपर्नेछ । सहरी स्वास्थ्य महाशाखाले महानगरस्तरीय टोल फ्रि टोलिफोन सहित स्वास्थ्य सहायता कक्ष स्थापना गर्ने, विभिन्न स्थानहरुमा प्रचार सामाग्रीहरु तथा स्वास्थ्य सामाग्रीहरुसहित स्वास्थ्य सहायता कक्ष स्थापना र स्वास्थ्यकर्मीहरु तथा महिला स्वास्थ्य स्वयम्सेविकाहरु परिचालन गर्नेलगायत काम गर्नेछ ।
यसका लागि आवश्यक पर्ने मास्क, डिस्इन्फेक्सन सामाग्री स्यानिटाइजरलगायत सामाग्री खरिद गर्ने, सचेतनामुलक सामाग्री छपाई गर्ने तथा सामाग्रीहरुलाई वडा, सहरी स्वास्थ्य क्लिनिक र स्वास्थ्य सहायता कक्षमा वितरण गर्ने काम जिन्सी शाखाले गर्नेछ ।
प्रशासन बिभागले नगर र वडा स्तरीय विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिलाई क्रियाशील हुन, नेपाल एम्बुलेन्स सेवा (१०२) लाई २ वटा आवश्यक स्वास्थ्य सुरक्षा व्यवस्था र जनशक्ति सहितका एम्बुलेन्स २४ सै घण्टा तयारीमा राख्न, अर्को व्यवस्था नभएसम्मका लागि जनप्रतिनिधि तथा कर्मचारीहरुलाई भोज, भतेर आयोजना नगर्न र अरुले आयोजना गरेको भोजमा सहभागी नहुन पत्राचार गर्नेछ ।
त्यस्तै कोरोना भाइरस नियन्त्रण, रोकथामका लागि कार्यपालिका बैठकले गरेका निर्णय बिभाग, वडा र आयोजनामा जानकारी गराउनेछ । काम कार्वाहीको प्रगति लिने, प्रतिवेदन गर्ने, सम्बन्धित संयन्त्र, कार्यदल, समिति र अधिकारीसँग समन्वय र सहजीकरण गर्ने काम पनि प्रशासन बिभागले गर्नेछ ।
यससँगै उच्च स्तरीय समन्वय समितिको बैठकले गरेका निर्णय कार्यान्वयनको अवस्था अनुगमन निरीक्षण गरिनेछ ।
बैठकमा वडा १४ की अध्यक्ष शोभा सापकोटा, कार्यपालिका सदस्य हीरादेवी पोखरेल, सहरी पूर्वाधार बिकास बिभागका प्रमुख राम थापा, नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटा, उपनिर्देशक गंगाधर गौत्तमलगायत अधिकारीहरु उपस्थितरहेका थिए ।