काठमाडौँ महानगरपालिका – २१ मा लगन पार्क शिलान्यास
कपन अनलाइन
काठमाडौं, चैत ६ । काठमाडौँ महानगरपालिका वडा नं. – २१ लगन टोलमा ‘लगन पार्क’को शिलान्यास भएको छ ।
कामपा प्रमुख बिद्यासुन्दर शाक्यले सो पार्कको शिलान्यास गरेका हुन् । पूर्व निर्धारित कार्यक्रम भएकोले, कोरोना भाइरसको संक्रमणबाट बचावट गर्न पूर्व—सतर्कता अपनाउन संघ सरकारले गरेको आव्हानअनुसार सीमित व्यक्तिकाबीच मेयर शाक्यले पार्कको शिलान्यास गरेका हुन्।
उक्त कार्यक्रममा संघीय संसद सदस्य कृष्ण गोपाल श्रेष्ठ, भीमसेनदास प्रधान, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रदेश सभा सदस्यहरु, महानगरका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य सहभागी थिए । शिलान्यास कार्यक्रमलाई बिभागीय प्रमुख तथा स्थानीयले कम्पाउण्डबाहिर छुट्टाछुट्टै बसेर अवलोकन गरेका थिए ।
कंडेल/के.एण्ड केजी/रमिता जे.भीले निर्माणको जिम्मा पाएको पार्क निर्माणको लागत भ्याटबाहेक ३ करोड ५७ लाख १९ हजार ६ सय १८ रुपैयाँ रहेको छ । आउँदो बर्ष (२०७७ साल) माघ मसान्तसम्ममा निर्माण सम्पन्न हुने पार्कको अधिकांश भाग खुल्ला क्षेत्र हुनेछ । यसका अतिरिक्त सत्तल, संग्रहालय, स्कल्पचर, पोखरी र ढुंगेधाराले पार्कलाई सजावट गरिनेछ ।
उक्त कार्यक्रममा प्रतिक्रिया दिँदै मेयर शाक्यले भने पार्क निर्माण, हरियाली प्रबर्धन र सार्वजनिक जग्गाको संरक्षण गर्नु महानगरका प्राथमिक काम हुन् । हामीले यस कामका लागि अरु नगरलाई नि अनुदान रकम दिएका छौं भने आफ्नो क्षेत्रमा कामले प्राथमिकता नपाउने कुरै हुँदैन ।
२०७२ बैशाख १२ को भूकम्पले यस ठाउँमा भएका भौतिक संरचनालाई भग्नावशेषमा परिणत गरिदियो । त्यतिवेलासम्म यस ठाउँलाई नेपाली सेनाले सिलखाना (हतियार भण्डारण गर्ने स्थल)का रुपमा प्रयोग गर्दै आएको थियो ।
फोटो सौजन्य : काठमाडौं अनलाइन