ट्राफिक नियम उल्लङ्घन गर्ने १९३८ सवारी चालक कारवाहीमा

ट्राफिक नियम उल्लङ्घन गर्ने १९३८ सवारी चालक कारवाहीमा

कपन अनलाइन

काठमाडौं, फागुन २७।  होली पर्वमा उपत्यकाभित्र जथाभावी रुपमा सवारी साधन चलाउने १९४१ चालकलाई कारवाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाले सोमबार होली पर्वका अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १,६४५ दुईपाङ्ग्रे र २९६ वटा चारपाङ्ग्रे सवारी साधनलाई कारवाही गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले मादक पदार्थ सेवन गरी सवारी चलाउने, ओभर लोड तथा मोटरसाइकलमा तीन जना राखेर चलाउने, तीव्र गतिमा चलाउने र मोडिफाई वा ठूलो आवाज निकालेर चलाउने चालकलाई कारवाही गरिएको जानकारी दिए ।

बिहान ७ देखि बेलुका ७ बजेसम्म महाशाखालगायत उपत्यकास्थित सम्पूर्ण ट्राफिक कार्यालयहरूले ७६ स्थानमाविशेष ट्राफिक चेकजाँच गरेको, त्यस्तै १४ वटा मोबाइल भ्यानवाट मोवाईल चेकजाँच तथा मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरेको महाशाखाका प्रमुख ढकालले बताए ।

प्रभावकारी सचेतना :सडकमा हुनेघटना न्यूनीकरण, भएन मानवीय  क्षति

काठमाडौँ उपत्यकाको विभिन्न चोकहरूका सडकमै “तीव्र गतिमा सवारी नचलाऔँ ।”, त्यस्तै “मापसे गरी सवारी नचलाऔँ ।” भन्ने लेखिएका प्लेकार्ड बोकेका ट्राफिक प्रहरी समेत परिचालन गरिएको थियो । यस्ता विभिन्न अभियानबाट ट्राफिक सचेतना प्रदान गरिएको महाशाखाका प्रमुख ढकालले भने । उनले भने –“प्रभावकारी र जनमुखी सचेतनाले नै विगतको भन्दा घटना न्यूनीकरण भएको छ ।”

यसैगरी काठमाडौं उपत्यकामा आज सोमबार २० वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १९ जना सामान्य घाइते भएका छन् भने कुनै पनि मानवीय क्षति भएको छैन ।

“विगतको समयमा जस्तो सडकमा उच्छृङ्खल गतिविधि नगरी सबैलेहाम्रो विनम्र अनुरोधलाई पालना गरेर रङ्गको पर्व होलीलाई संस्कृतिअनुसार आपसी शुभकामना तथा सद्भाव साटासाट गरेर शान्तिपूर्ण तवरले मनाइदिनु भएकोमा सबैलाई धन्यवाद दिन चाहेको बताए।

ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटना रहित सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना समेत लागु गरी प्रभावकारी कार्यान्वयन गरेको जानकारी दिएको छ । राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँचलाई समेत कडा पारिएको थियो ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठका अनुसार महाशाखाले नियमित ड्यूटी वाहेक होली पर्वलाई दुर्घटनारहित सुरक्षित र मर्यादित बनाउन ५६६ भन्दा बढी ट्राफिक प्रहरी खटाएको जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।