बुढानिलकण्ठ नगरपालिका – १२ बाट रेड पाण्डाको छालासहित चार जना पक्राउ

बुढानिलकण्ठ नगरपालिका – १२ बाट रेड पाण्डाको छालासहित चार जना पक्राउ

कपन अनलाइन

काठमाडौं ,फागुन १३।वन्यजन्तु रेडपाण्डाको छाला चोरी–शिकारीमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले बुढानिलकण्ठ नगरपालिका  वडा नं १२ कपन खरिबोटबाट दुर्लभ रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुली घर भई कपन बस्ने ३९ वर्षीय सूर्यबहादुर भुजेल, धादिङको धुनिबेसी नगरपालिका घर भई ललितपुर ढोलाहिटी बस्ने ४० वर्षीय सुकबहादुर लामा, कास्की घर भई काठमाडौंको गौशाला बस्ने ३७ वर्षीय युवराज सापकोटा र काठमाडौंको कपन घर भएकी ४० वर्षीय कमला तामाङलाई पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

प्रहरीले काठमाडौंको कपन खरिबोटमा दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला अवैध रूपमा ओसारपसार गरी विक्री/वितरण गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान थालेको थियो।

सोमबार उनीहरूको खोजतलास गर्दै जाँदा कपन खरिबोटमा उनीहरू फेला परेका थिए।

प्रहरीले उनीहरूको खानतलासी गर्ने क्रममा सूर्यबहादुर भुजेलले बोकेको ब्यागमा रेड पाण्डाको छाला भेटिएको थियो।

प्रहरीले आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय, हात्तीसार, काठमाडौं पठाएको छ।

तपाइँको प्रतिक्रिया ।