गणेश हिमालका छेउछाउः पहिले र अहिले
कपन अनलाइन
काठमाडौं ,फागुन ११। नवराज न्यौपाने ‘मौन’
मैले जागिरे जीवनमा छ वर्ष धादिङमा बिताएँ । त्यो समयमा धादिङका धेरै गाविसहरु घुमे पनि अधिक समय उत्तरी भेगका लापा, सेर्तुङ र तिप्लिङ गाविसहरुमा बिताएको छु । दुर्गम क्षेत्र बिकास समितिले दुर्गम गाविसका दुर्गाम गाउवस्तीहरुमा भौतिक पूर्वाधारका संरचना निर्माण गर्नुका साथै सीपमूलक र आयमूलक कार्यक्रम सन्चालन गरेको थियो । त्यो बेला बाटोघाटो, पुलपुलेसा, खानेपानी, लघुजलविध्दुत, सोलार, स्कूल, गुम्बा बनाउने काम हुन्थ्यो ।
त्यो बेला धादिङ्बेसीबाट ३–४ दिनको पैदल हिंडेर जानुपथ्र्यो । बाटो निकै कठीन र घुमाउरा थिए । खच्चड हिंड्ने बाटो बनेकै थिएन । जनजीवन कष्टकर थियो । त्यसमाथि सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको थियो । तथापि हाम्रा योजना र कार्यक्रमहरुलाई कसैले अवरोध गरेन । विकास सूचङ्कांकमा सबभन्दा कम चरम गरीबीको सूचीमा परेका ती गाउँहरुमा दुर्गम क्षेत्र बिकास समिति र कादूरी एग्रिकल्चरल एड एशोसिएशन (ब्रिटिश संस्थाका कार्यक्रमहरुले कायापलट गरिदियो । पाविल हिमालको फेदमा रहेको लिङ्जो (साविक तिप्लिङ्–९) र गणेश हिमालको फेदमा रहेका हिन्दूङ (साविक सेर्तुङ (९) र नेवेर ( साविक लापा(९) गाउँहरुमा अहिले बिजुली तथा सोलार सुबिधा पुगिसकेको छ ।
धादिङमा विदेशी पर्यटक जाने ठाउँ सोम्दाङ हो जुन रसुवाको गत्लाङ र धादिङको तिप्लिङ गाविस जोडिएको ठाउँँ हो । समुद्री सतहबाट ३२७० मीटर उचाइमा रहेको सोम्दाङमा रसुवाको स्याफ्रुबेसीबाट गाडी चढेर खुर्पुलेक काटेर ३ घण्टामा पुग्न सकिन्छ । यहाँ अहिलले स्तरीय होटेलहरु खुलिसकेका छन् । गणेश हिमाल क्षेत्र पोखरा पछि दोश्रो धेरै पानी पर्ने ठाउँ हो भने गणेश हिमाल र लाङ्टाङ हिमाल क्षेत्र नेपालको होचो हिमरेखा भएको स्थल हो । सामान्यतः हिमरेखा भन्नाले बाह्रै महिना हिउँ रहने ठाउँ ( ५००० मी) बुझिन्छ, तर यहाँ ४५०० मी मा हिमरेखा रहेको छ ।
सोम्दाङ्बाट २ घण्टा पैदलयात्राामा पाङ्साङ् पुग्न सकिन्छ जहाँबाट रुवीभ्यालीलाइ राम्ररी चियाउन सकिन्छ भने अतुलनीय हिमाली दृष्यहरु अवलोकन गर्न सकिन्छ । त्यस्तै मार्सोङ लेक गोम्साङ, लारी आदि स्थानहरुमा हिमाली जीवजन्तुहरु अवलोकन गर्न सकिन्छ। गोम्साङ्भन्दा केही माथि नेपाल मेटल कम्पनी गणेश हिमाल सीसा जस्ता परियोजंनाको खानी रहेको छ् भने सोम्दाङमा कार्यालय रहेको छ । यही खानी उत्खनन गर्ने उद्देश्यले नेपाली सेनाले पञ्चायतकालमा नै १०५ किमी लामो त्रिशुली–सोम्दाङ सडक खनेको थियो । उक्त समयदेखि नै पर्यटकहरु पाल्दोर पिक लगायतका हिमाल चढ्न र हिम–श्रिन्खलाहरुको अवलोकन गर्न आइरहेका छन् ।
अब धादिङका उत्तरी गाउँबस्तिहरुमा पनि आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन गर्नु जरुरी
देखिन्छ ।