प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली दर्ज्यानी चिन्हबाट सुशोभित

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली दर्ज्यानी चिन्हबाट सुशोभित

कपन अनलाइन

काठमाडौं, माघ २९  । नेपाल सरकार मन्त्रीपरिषद्को माघ २८ गतेको निर्णयअनुसार माघ २९ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका ठाकुर प्रसाद ज्ञवाली दर्ज्यानी चिन्हबाट सुशोभित भएका छन् ।

गृहमन्त्रालय सिंहदरबारमा बुधबार आयोजित बिशेष समारोहबीच गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई दर्ज्यानी चिन्हबाट सुशोभित गरेका  हुन्  ।

सुशोभन समारोहमा गृहसचिव न्यौपानेले नेपाल सरकार गृह मन्त्रालयकोतर्फबाट प्रहरी महानिरीक्षक ज्ञवालीलाई बधाई तथा शुभकामना दिँदै कार्यकाल सफलताको कामना गरे  ।

उक्त अवसरमा गृहसचिव न्यौपानेले दर्ज्यानी चिन्ह सुशोभन पश्चात प्रहरी महानिरीक्षक ज्ञवालीले व्यक्त गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्दै प्रहरी संगठनलाई अझ उच्च मनोबलयुक्त र सक्षम संगठनको रुपमा विकास गर्न सम्पूर्ण लगन, मेहनत, तत्परता, ईमानदारिता, कार्यकुशलता र क्रियाशीलता वहन गर्ने अपेक्षा रहेको बताए  ।

नेपाल प्रहरीका सबै सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई अझ उत्प्रेरित गर्नुपर्ने, व्यावसायिक बनाउनुपर्ने, अपराध र विध्वसांत्मक गतिविधि नियन्त्रण गर्न अझ सक्रिय हुनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै गृहसचिव न्यौपानेले मानवअधिकारको सम्मान लगायत न्यूनतम मानवोचित विषयबस्तुलाई समेत केन्द्रविन्दुमा राख्दै सबै सुरक्षा निकायहरुवीच सूचनाको आदान प्रदान, समन्वय एवम् सहकार्य सहित अगाडि बढ्नुपर्नेमा जोड दिए  ।
विसं २०२२ असोज २८ गते प्युठानमा जन्म भई २०४७ असार २५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गरेका  प्रहरी महानिरीक्षक ज्ञवाली २०५८ बैशाख १८ गते प्रहरी नायव उपरीक्षक, २०६६ मंसिर ३ गते प्रहरी उपरीक्षक, २०७३ असार २८ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७५ असोज २८ गते प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका थिए  ।

समाजशास्त्रमा स्नातकोत्तर गरेका प्रहरी महानिरीक्षक ज्ञवालीले विभिन्न ३३ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन्  । प्रहरी महानिरीक्षक ज्ञवाली दुर्गम सेवा पदक, गद्दी आरोहण रजत पदक, संयुक्त राष्ट्रसंघ पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रहरी सेवा पदक, प्रवल जनसेवाश्री पदक लगायतका विभूषणबाट विभूषित छन्  । यसैगरी उनले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत दर्जनौ नगद पुरस्कार तथा प्रशंसापत्र समेत प्राप्त गरेका छ्न  ।

फोटो सौजन्य : नेपाल  प्रहरी

तपाइँको प्रतिक्रिया ।