लुम्बिनी कलेजले प्रायोजन गरेको प्याब्सक अन्तर विद्यालय फुटसल प्रतियोगीताको उपाधि विनायकलाई
कपन अनलाइन
काठमाडौं, माघ २६ गते ।लुम्बिनी कलेजले प्रायोजन गरेको निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) अन्तर-विद्यालय फुटसल प्रतियोगिताको उपाधि विनायकले जितेको छ ।
“विकास, अनुशासन र गतिशीलता खेलाडिको पहिचान” “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ माघ २४ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनलमा विनायकले विट्स एकेडेमीलाई ६–२ गोलले पराजित गर्यो । विनायकका ‘म्यान अफ द म्याच’ स्कन्द पोखरेलले ४ गोल गरे । सतिश थापा र नितिश सहनीले १–१ गोल थपे । विट्स एकेडेमीका साम्देन तामाङ र रिसोप प्रधानले १–१ गोल फर्काए ।
निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) द्वारा आयोजित प्रतियोगिता चुच्चेपाटीस्थित लुम्बिनी फुटसलमा तेश्रो स्थानका लागि भएको खेलमा सगरमाथाले पुष्पलाललाई ३–१ गोलले हरायो । विजेताले १० हजार र उपविजेताले ८ हजार नगद पुरस्कार पाए । तेश्रो हुनेले ७ हजार तथा चौथोले ५ हजार नगद पुरस्कार हात पारे ।
विट्सका अशोक मगर उत्कृष्ट खेलाडी, विनायकका युवराज गोर्खाली उत्कृष्ट गोलरक्षक, विनायकका सतिश थापा उत्कृष्ट डिफेन्डर र विनायकका आनन्द क्षेत्री उत्कृष्ट प्रशिक्षक घोषित भए । विनायकका स्कन्द पोखरेल अनुशासित खेलाडी चुनिए भने विट्सका रिसोप प्रधान उदीयमान खेलाडी ठहरिए ।
विजेतालाई प्रदेश सांसद् नरोत्तम वैद्य, आयोजक प्याब्सकका अध्यक्ष गेन्द्र लामा, लुम्बिनी एकेडेमिक फाउन्डेसनका प्रबन्ध निर्देशक रविचन्द्र कोइराला, काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष शुद्धकुमार डंगोल, एन प्याब्सनका केन्द्रीय कोषाध्यक्ष प्रताप थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा ६४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।