बहुमुल्य वनस्पति यार्सागुम्बा सहित तीन जना महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको नियन्त्रणमा
कपन अनलाइन
काठमाडौं पौष ७। महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले बहुमुल्य वनस्पति यार्सागुम्बासहित तीन जनालाई नियन्त्रणमा लिएकाे छ । चेकजाँचको क्रममा बहुमुल्य वनस्पति यार्सागुम्बासहित तीन जनालाई नियन्त्रणमा लिएकाे हो ।विशेष सूचना तथा लामो समय देखिको निरन्तर निगरानीको परिणाम स्वरूप महानगरीय प्रहरी प्रभाग नागढुंगामा प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काको कमाण्डमा खटिएको टोलीले ४.२४५ केजी यार्सागुम्बासहित ३ जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले भारतीय UK 04 TB 1967 नम्बरको मारूती कारबाट साे यार्सागुम्बासहित ३ जनालाई पक्राउ गरिएको बताए ।उनका अनुसार पक्राउ पर्नेमा एक नेपाली र दुई भारतीय नागरिक- दार्चुला जिल्ला दुहम गापा- ५ बस्ने ४८ वर्षीय गर्जे सिँह महरा तथा भारत उतराखण्ड, जिल्ला चमौलि, पोष्टअफिस लत्ता, ग्राम लत्ता बस्ने ३२ वर्षीय प्रेम सिंह र भारतकै उतराखण्ड, जिल्ला चमौलि, पोष्ट अफिस उर्गम, ग्राम सल्ना बस्ने वर्ष ३२ वर्षीय हरिश सिंह रहेका छन् ।
सवारी साधनको भित्री पार्टपुर्जा मेकानिक्सद्वारा खोली चेकजाँच गर्ने क्रममा उक्त परिमाणको यार्सागुम्बा चालकको सिट पछाडिका सिटहरूको दुबै साईडमा रहेको बोतल स्ट्याण्डमा लुकाइएकाे अवस्थामा भेटिएकाे हाे । कागज तथा प्लाष्टिकले बेरेर २३ वटा पोकामा लुकाएको अवस्थामा भेटिएको थियो ।पक्राउ गरिएकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार, काठमाडाैँमा पठाईएको थानकोट प्रहरीले जनाएको छ । यार्सागुम्बाकाे मूल्य करिव ८० लाख रहेको छ ।
फोटो सौजन्य : रोशन दानी