कामचोर ठेकेदार प्रति आक्रामक बन्दै ओखलढुंगाका जनप्रतिनिधि
कपन अनलाइन
ओखलढुंगा ,मंसिर २९।
ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार तथा प्रदेस सभा सदस्य मोहन खड्का तथा अम्बिर बाबु गुरुङ जिल्लाका विभिन्न योजनाहरु अलपत्र पार्ने ठेकेदार प्रति आक्रामक बनेका छन ।
ओखलढुंगा जिल्लामा संचालित विभिन्न योजना लामो समय देखि निर्माणधीन रहेको र पुरा हुन् नसकेर गुनासो बढे संगै सो जिल्लाका जनप्रतिनिधिले आफ्नो सक्रियता बढाएका हुन् । यसै क्रममा केहि समय अगाडी प्रमुख जिल्ला अधिकारी गणेश आचार्य जिल्ला आयोजना कार्यालय प्रमुख दिप नारायण शाह सहित ठेकेदार कम्पनीका प्रतिनिधि सहितको बैठक आयोजना गर्दै प्रतिनिधि सभा सदस्य सुनुवार तथा प्रदेस सभा सदस्य खड्काले अव कुनै पनि बहानामा योजनामा ढिलाई नगर्न ठेकेदार कम्पनीलाई चेतावनी दिएका थिए ।
उक्त अवसरमा मोलुंग खोला मोटरेवल पुल ,मोलुंग खोला मांद्रे दोभानमा निर्माणाधीन पक्कि पुल ,मोलुंग लिखु एकवार सडक ,विभिन्न स्थानमा निर्माणाधीन सडकहरुलाई अविलम्ब सम्पन्न गर्न निर्देशन दिदै यदि नभएमा कठोर कदम चलन बाध्य बताएका थिए ।
यसै प्रसंगमा केहि समय अगाडी लिखु पुलको निरीक्षणमा पुगेका ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारले जिल्लाका केहि नेता अरुको पछाडी लागेर मन्त्रालय जादै सामाजिक संजालमा फोटो हालेर प्रचार गरेको भनेर व्यंग्य गर्दै आफु जिल्लाका सबै योजना समयमै सम्पन्न गर्न सक्रिय रहेको बताए । अवका दिनमा समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई जनता साक्षी राखेर कालोमोसो दल्ने आक्रामक अभिव्यक्ति दिदै सांसद सुनुवारले आफु सामाजिक संजालमा उफ्रने नभई जनताको विचमा गएर काम गर्ने बताए ।
“लिखु र मोलुंग एकवार समृद्ध ओखलढुंगा निर्माणको आधार” बताउदै आएका सांसद सुनुवारले कटारी ओखलढुंगा सडक र पहिरो प्रभावित क्षेत्रमा सुरुंग मार्ग निर्माणका लागि सदनमा आवाज उठाउदै आएका छन।