लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत बुनपा – १० मा स्कुटर र्याली सम्पन्न
कपन अनलाइन
काठमाडौं,मंसिर २४ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत मंसिर २३ गते सोमबार बुढानिलकण्ठ नगरपालिकामा स्कुटर र्याली सम्पन्न गरेको छ ।
“समानताको पुस्ता : बलात्कार विरुद्धको ऐक्यबद्धता” भन्ने मूलनारा को साथमा सो र्याली गरिएको हो। बुढानिलकण्ठ वडा नम्बर १० स्थित ह्याण्ड बल खेल मैदान बाट सुरुभएको स्कुटर र्याली कपन राममन्दिर परिक्रमा गरि ह्याण्डबाल खेल मैदानमा आएर समापन भएको थियो ।
स्कुटर र्यालीको शुभारम्भ गर्दै बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुख रमादेवी राईले लैङ्गिक हिंसा नियन्त्रणका लागि सबैको प्रतिबद्धता आवश्यक रहेको बताइन । हिंसामुक्त बुढानिलकण्ठ र निर्माणका लागि परिवार, विद्यालय र समुदायमा सचेतना फैलाउने काम भइरहेको भन्दै उनले यसका लागि सबै प्रतिबद्ध भएर सहयोग गर्नुपर्ने बताइन ।
कार्यक्रममा नगरपालिकाका प्रबक्ता नवराज भट्टराईले समाजमा हुनसक्ने हिंसाका घटना रोक्न सचेतना आवश्यक रहेको बताए।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष राजु अधिकारी, बुनपा १२ का वडा अध्यक्ष शम्भु भट्टराइ नगर, नगर सल्लाहकार बिन्दा गौतम लगायतको उपस्थिति रहेको थियो ।