बुढानिलकण्ठ मन्दिरमा हरिबोधनी एकादशी मेला भर्ने भक्तजनहरुको भीड

बुढानिलकण्ठ मन्दिरमा हरिबोधनी एकादशी  मेला भर्ने भक्तजनहरुको भीड

कपन अनलाइन

काठमाडौं कार्तिक २२। हरिबोधनी एकादशीको अवसरमा बुढानिलकण्ठ नगरपालिकाको धार्मिकस्थल  बुढानिलकण्ठ मन्दिरमा बिशेष मेला एवम पूजा गर्नेहरुको भीड लागेको छ ।हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर ‘विष्णु’ को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा निदाएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ।

धार्मिक मान्यता अनुसार आजको दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेष नारायण, इचँगुनारायण र विशङ्खुनारायण  दर्शन गरेपछि बुढानिलकण्ठ नारायणको दर्शन गर्नुपर्ने मान्यता रहेको छ । सोहि कारणले गर्दा पनि धेरै भक्तजनको बिहानै देखि मन्दिर परिसरमा  भीड लागेको छ ।

विगतमा बूढानिलकण्ठ क्षेत्र विकास समितिले आयोजना गर्दै आएको मेला गत वर्ष देखि भने बुढानिलकण्ठ  नगरपालिकाले व्यवस्थापन समिति गठन गरि  आयोजना गर्दै आएको हो । बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति नै गठन गरि मेला व्यवस्थापन गरेको छ ।भक्तजनहरूलाई दर्शन गर्न छिटो छरितो र सहज होस् भन्ने हेतुले स्वयं सेवकहरु क्रियाशील रहेको देख्न सकिन्थ्यो भने प्रहरीहरुले नागरिक सहयाता केन्द्र नै स्थापना गरि मेला लाइ व्यवस्थापन गरिरहेका थिए, साथै अशक्त र विशिष्ट व्यक्तिहरूका लागि प्रवेशद्वारको व्यवस्था गरिएको थियो  ।

हिन्दु धर्मालम्बीहरु बिहानै नदी, तलाउ, धारा र कुवामा गई चोखो पानीले नुहाइ ब्रत बसेका छन। आज विहानैदेखि तुलसीको पूजा गरी तुलसी बिवाह गरिदै छ। घरघरमा रहेका तुलसीका मठ सिंगारपटार गरी मठ छेउमा साल, बाँस वा उखु गाडेर तुलसीको विवाह गर्ने चलन  रहेको छ।घरमा तुलसी नरोप्नेहरु समेत छिमेकी कहां गएर तुलसीको पुजा गर्ने गर्दछन। अक्सिजन बढी दिने र सुगन्ध आउने बनस्पति हुनाले तुलसीलाई औषधीको रुपमा समेत प्रयोग गरिन्छ।

केहि दिन अघि मात्र नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले बुढानीलकण्ठ नगरपालिकामा अवस्थित ‘बुढानीलकण्ठ नारायण मन्दिर’को नवनिर्मित मठाधीश भवनको उद्घाटन गरेका थिए  । भारत सरकारको २.१८ करोड अनुदान सहयोगमा निर्माण भएको नवनिर्मित यस तीन तले भवनले मठाधीश तथा युवा भिक्षुहरुलाई आश्रय दिइनेछ ।बुढानिलकण्ठ नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा नगरपालिका भरि  सार्वजनिक बिदा समेत दिएको छ

तपाइँको प्रतिक्रिया ।