सिन्धुपाल्चोक बस दुर्घटनाको शोकमा शैलुङ गाउँपालिकामा सार्वजनिक बिदा
कपनअनलाइन
काठमाडौं, कार्तिक १८ । अरनिको राजमार्ग अन्तर्गत सुकुटेमा दुर्घटनामा परी मृत्यु हुनेको शोकमा सोमबार शैलुङ गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।
गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले शोक विज्ञप्ति जारी गर्दै शोक घडीमा एक दिन गाउँपालिका भर सार्वजनिक विदा दिने जानकारी दिएका हुन्।
विज्ञप्तिमा लेखिएको छ, ‘यो शोकको घडीमा सिंगो शैलुङ गाउँपालिका शोकमा डुबेको छ। शोकलाई शक्तिमा बदल्नै आग्रह गर्दै गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय शैक्षिक संस्था, गैरसरकारी संघ संस्थाका कार्यालयहरु बन्द रहनेछन् ।’
अरनिको राजमार्गअन्तर्गत सुकुटेमा आइतबार भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु घाइतेका भएका छन् ।
आइतबार दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको थियो । अधिकांश घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।
मृतक १८ जनामध्ये दोलखा जिल्लाका १५ जना परेका छन् जसमा शैलुङ गाउँपालिकाका मात्र १४ जनाको मृत्यु भएको छ ।