दुखनीदेवीको दुःख

दुखनीदेवीको दुःख

कपन अनलाइन 

-किरण भट्टराई

सप्तरी, २७ माघ । बेल्हीचपेना गाउँपालिका– ५ मलेपुरकी दुखनीदेवी मण्डलले तीन वर्षअघि छोरालाई रोजगारीका लागि विदेशमा पठाउँदा अनेक सपना सँगालेकी थिइन् ।पैसा कमाउला भन्ने आशले तीन कट्ठा जग्गा स्थानीय साहुकोमा धितो राखेर एक लाख ५० हजार ऋण लिई उनले छोरालाई मलेसिया पठाइन् । छोरो रोजगारीका लागि मलेसिया उडेपछि कमाउला र आफूलाई पनि बुढेसकालमा आर्थिकरुपमा केही सहज होला भन्ने उनको सपना धेरै दिन टिकेन । मलेसियाको केर ग्लोबल फट्युनमा रोजगारीका लागि पुगेको छोरा मनोजकुमार मण्डल २२ दिनपछि बिरामी भएर नेपाल फर्किए ।

मलेसियामा नौलो परिवेश, समाज र वातावरणमा काम गर्दा उनको छोरामा कडा मानसिक समस्या देखापर्‍यो । सोही कारण कम्पनीले उनलाई नेपाल फिर्ता पठाइदियो । तीन वर्षअघि त्यहाँबाट शुरु भएको दुखनीदेवीको दुःखका दिन अझै सकिएका छैनन् । छोरो पठाउँदा तीन कट्ठा जग्गा धितोमा राखेर स्थानीय खुरहुरीयाका विरजा यादवसँग लिएको एक लाख ५५ हजार ऋणले उनलाई अझै सताइरहेको छ ।

सो ऋणको ब्याज बढेर अहिले चार लाख पाँच हजार पुगेको छ । सोही चक्रिय ब्याजले उनलाई थला पारेको छ । उनले भनिन्, ‘आम्दानीको स्रोत केही छैन, कमाउने छोरा नै बिरामी भयो, कसरी ऋण तिर्ने ?’ श्रीमान् र आफूलाई बुढेसकाल लागेकाले खासै काम गर्न नसके पनि कहिलेकाहीँ मजदुरी र खेती किसानी गरेर केही रकम जम्मा गर्ने गरेको उनले बताइन् ।

छोरोे फर्किएर आएको धेरै समयपछि एजेण्टले मलेसिया जाँदा लागेको पैसा फिर्ता गर्‍यो । एजेण्टले रकम दिएपछि शुरुमा दुई लाख साहुलाई तिरिन् । गत वैशाखमा र कात्तिकमा ५०/५० हजार तिरिन् । अब तिर्न बाँकी एक लाख पाँच हजार छ । धितो राखेको जग्गा अझै फिर्ता भएको छैन । एक लाख ५५ हजार ऋण लिए पनि साहुले तीन लाख ऋण लिएको कागज गराएको पीडित दुखनीदेवीको भनाइ छ ।

मण्डलको तीन वर्षको नातिनी छिन् । मानसिक समस्याका कारण छोराले बुहारीलाई दुःख दिने गरेपछि उनी धेरैजसो माइतमै बस्ने गरेको दुखनदेवी बताउँछिन् । ‘नातिनीलाई पढाउने व्यवस्था गर्नसके हुन्थ्यो,’ उनिन्, ‘छोरो त निको हुने कहिले हो कहिले, कम्तीमा नातिनीलाई राम्ररी पढाउन पाए हुन्थ्यो ।’

दुखनी देवी त प्रतिनिधि पात्र मात्रै हुन् । जिल्लाबाट वैदेशिक रोजगारीमा जाने अधिकांशले गाउँकै साहु, महाजन र पण्डितसँग चर्को ब्याजमा ऋण लिएर जाने गरेका छन् । रकम दिनेले कागज गर्दा ब्याज नलेखी पहिले नै लिएको रकमभन्दा दोब्बरको कागज गर्ने गरेका छन् । एक लाख ऋण लिए ब्याज पहिला नै जोडेर दुई लाखको कागज गर्ने परम्परा यहाँका लागि सामान्य भइसकेको छ ।

स्थानीय प्रहरी प्रशासन यसबारे जानकार रहेपनि यस्ता विकृति हटाउन खासै पहल गरेको देखिँदैन । वित्तीय साक्षरताको अभाव, बैंकबाट ऋण लिन झण्झट मान्ने र बैंक तथा वित्तीय संस्थाले पनि सहजै ऋण नदिने भएकाले यस्तो प्रवृत्ति बढेको हो । यसलाई हटाउन वित्तीय साक्षरता कार्यक्रमका साथै चर्को ब्याजमा नक्कली कागज गर्ने प्रवृत्तिविरुद्ध स्थानीय प्रहरी प्रशासनले कदम चाल्न आवश्यक रहेको सरोकार भएकाहरु बताउँछन् ।

तपाइँको प्रतिक्रिया ।