जनजागृती मा.वि. मा मिनि क्यासिनो शैलीको तास खेलाउने ठाउँ
कपन अनलाइनकपनका सरकारी विद्यालयहरु विवादमा आउने क्रम यथावत छ । बालउद्धार उच्च माविले आफ्ना सटरमा भट्टि थापेजस्तै कपन ७ को जनजागृती उच्च माविका दुइवटा सटरमा मिनि क्यासिनो शैलिमा तास खेलाइन्छ । यसरी सरकारी स्कूललाई निर्वस्त्र बनाउँदै स्कूलका हेडसर तथा व्यवस्थापन समितिका सदस्य नै यी मिनि क्यासिनोका नियमित ग्राहक भएपछि स्थानीय तथा स्कूलका शिक्षकहरुले चासो लिएका छन् । नाम उल्लेख गर्न नचाहँदै स्थानीय जगडोल निवासी व्यक्तिले कपन अनलाइनसँग चासो देखाएपछि कपन अनलाइनले यसलाई समाचारको रुप दिएको हो ।
जनजागृती *उच्च* मा विमा यतिखेर प्रधानाध्यापक, व्यवस्थापक र अभिभावकको सम्बन्ध राम्रो हुन नसक्दा हरेक वर्ष यहाँ पढ्न आउने विद्यार्थीको संख्या घट्दै गएको तथ्यांक छ । यद्यपि किन विद्यार्थी घटे भन्ने बारे सायद स्कूल, स्कूल प्रशासन, अभिभावकको आज सम्म मिटिङ्ग समेत बस्न सकेका छैनन् । यस तर्फ व्यवस्थापक अभिभावक, प्रधानाध्यापकबीचको छलफल किन नभएको, विद्यालयलाई राम्रो बनाउन के गर्नुपर्छ भन्ने विषयमा किन छलफल नभएको ? स्थानीय सरोकारवालाहरुले यो प्रश्न उठाउँदा पनि सम्बन्धित क्षेत्र निदाए सरह बसिरहेको छ ।
जनजागृती स्कूलमा जति समय पढाउने गरिन्छ त्यति नै समय स्कूलले भाडामा दिएको सटरमा मिनी क्यासिनोसरह तास खेलाइन्छ । हरेक दिन विहान ६ बजे पछि स्कूल भवनमा तास खेल्न आउने भिड जम्मा हुने गर्दछ । १० कक्षा पढ्ने विद्यार्थी माथिल्लो तलामा हुन्छन् भने यसै स्कूलका शिक्षक, व्यवस्थापन समितिका सदस्य भुई तलामा तास खेल्न जम्मा हुन्छन् । न कुनै चाडपर्व, न कुनै उत्सव वा महोत्सव हरेक दिन विद्यालय भवनमा तास खेल्दा विद्यार्थिहरुमा के सन्देश जान्छ ? यो विषयबारे कसैले एक दिन सोचेको देखिदैन यहाँ ।
विद्यालयको लागि भनेर आनन्द संघको सहयोगमा बनेको ३ तलाको भवनको माथिल्ला दुई तल्लामा विद्यार्थीहरु अध्ययन गर्ने गर्दछन् । तलको तल्लामा भने विद्यालयको आम्दानी बढ्ने भन्दै तल्लो तल्लाको तीनकोठामध्ये दुई कोठामा विद्यालयले मिनि क्यासिनो सञ्चालनका लागि भाडामा दिएपछि केहि अभिभावक रुष्ट बनेका छन् । १ वर्ष अगाडि प्रेम केसीको घरको १ वटा कोठा भाडामा लिएर होटल सञ्चालन गर्छु भनि स्थानीय असोक केसीले सटर भाडामा लिएका थिए । होटलमा समोसा, चाउमिन, निम्की पाउने भएकाले खाजा खान आउनेको भिड नै देखिन्थ्यो । तर खान आउने भिड जुवा खेल्ने भिडमा परिणत भएपछि हल्ला भएको भन्दै घरभेटीले होटल हटाउन भनेका थिए । लगत्तै स्कूल प्रशासनले छलफलनै नगरी २ वटा सटर दिएको थियो । ३ वटा सटर रहेपनि १ वटा सटरमा मासु पसल सञ्चालनमा छ भने अन्य दुईकोठामा होटल र तास खेलाउने गरिएको छ । स्थानीयको गुनासो आउन थालेको महिना भैसकेको भएपनि विद्यालयले यसतर्फ चासो देखाएका छैन । प्रधानाध्यापक, व्यवस्थापन समितिका सदस्य, अभिभावकहरु सँगै तास खेल्ने भएपछि, चासो पनि प्रभावकारी देखिएको छैन । विद्यार्थी समेत तास खेल्ने समुहमा सहभागी भएका भेटिन्छन् ।
यद्यपि रुष्ट बनेका केही अभिभावक तथा स्थानीयहरु भने कहाँ जाने कसलाई भन्नेमा अलमल परेका छन् । रुष्ट अभिभावक तथा स्थानीय राती अबेर सम्म तास खेलाएको, जथाभावी बोलेको, फोहर गरेको, खुल्ला स्थानमा दिसा पिसाब गरेको भन्दै स्कूल प्रशासनलाई जानकारी गराएपनि केहि नभएपछि हेरेरै बस्न बाध्य भएका छन् । उनीहरु भन्छन् “रामकाजी हेड सरनै विहानै तास खेल्न जाने भएपछि कस्सलाई भन्ने ?
सच्याइएको : जनजागृती मा.वि. हुनुपर्नेमा जनजागृती उच्च मा.वि. भएकोमा सच्याइएको छ ।