आगलागीबाट नष्ट भएको स्वयम्भूस्थित ज्ञानमाला भजनघर नजिकै अस्थायी घर निर्माण गरिनेछ :जीवनराम श्रेष्ठ

आगलागीबाट नष्ट भएको स्वयम्भूस्थित ज्ञानमाला भजनघर नजिकै अस्थायी घर निर्माण गरिनेछ :जीवनराम श्रेष्ठ

कपन अनलाइन 

काठमाडौ,माघ ३।

स्वयम्भूस्थित आगलागीबाट नष्ट भएको ज्ञानमाला भजनघर नजिकै अस्थायी घर निर्माण गरिने भएको छ ।

शुक्रबार राति भएको आगलागीबाट क्षतिग्रस्त बनेको उक्त घरमा भजनलगायत धार्मिक कार्यक्रम गर्न नमिल्ने भएपछि काठमाडौँ महानगरपालिका र कामपा–१५ वडाले अस्थायी घर र बाजाका सामग्रीको व्यवस्था मिलाउन लागेको प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य जीवनराम श्रेष्ठले बताए  ।

त्यहाँ भएको आगलागीबाट करिब रु ३० लाख बराबरको नोक्सान भएको थियो । विश्वसम्पदा क्षेत्रमा सूचीकृत उक्त स्थानका अधिकांश सम्पदा भूकम्पले कमजोर बनाएको बताउँदै उनले आगजनीले पनि भजनघरमा क्षति पुगेकाले छिट्टै पुनःनिर्माणका लागि सहयोग जुटाइने प्रतिबद्धता व्यक्त गरेका छन ।

कामपा प्रमुख विद्यासुन्दर शाक्यले धार्मिक गतिविधि भइरहने घर आगलागीले समस्याग्रस्त भएकाले पुनःनिर्माण नहुँदासम्मका लागि अस्थायी टहराको प्रबन्ध गरिने जानकारी दिए  । कामपा–१५ का वडाध्यक्ष ईश्वरमान डंगोलले स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा भूकम्पले क्षति पुर्याएका सम्पदा तथा निजी घरको मर्मत गर्नुपर्नेमा जोड दिए  । घटनास्थलको अवस्था बुझ्न आज पुगेका जनप्रतिनिधिसँग भजनघरका सदस्यहरुले सोको पुनःनिर्माण चाँडो गर्न माग गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।