सत्य निरुपण तथा वेपत्ता आयोग पुनःगठन गर्न माग

सत्य निरुपण तथा वेपत्ता आयोग पुनःगठन गर्न माग

कपन अनलाइन 

काठमाडौं, २४ पुस । मानव अधिकारवादीहरुले सत्य निरुपण तथा वेपत्ता आगोगको अध्यादेश मार्फत म्याद नथपी पुनःगठनको माग गरेका छन् । रिपोर्टर्स क्बल नेपालमा विश्व वकालत मञ्चले पत्रकार सम्मेलन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगले पीडितको पक्षमा कुनै पनि परिणाम दिन नसकेको भन्दै पुनः गठनको माग गरेका हुन ।

विश्व वकालत मञ्चका अध्यक्ष एवम् संविधानविद् दिनेश त्रिपाठीले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता आयोगको म्याद थप्नुको कुनै औचित्य नरहेको टिप्पणी गरेका छन् ।

उनले भने, ‘ दुवै आयोगको म्याद सकिएको छ, तीन वर्षे लामो अवधि पुरा गरेपनि पीडितहरुको पक्षमा कुनै पनि परिणाम दिन सकेनन्, पीडितहरुको आँसुमा रमाउने काम भयो,अन्य सरोकारवालासँग सम्वाद स्थापित गर्न सकेनन्, यसबाट आयोगको नाममा राज्यको तर्फबाट ठुलो स्रोत साधन र समयको वर्वादि भएको छ, यसमा हाम्रो असहमति छ।’

उनले अघि थपे, ‘यस आयोगको गठनको प्रक्रिया नै गलत थियो, बद्नियत पूर्ण तरिकाले अदालको फैसला आउनुको दुईदिन अगाडि हतारहतारमा यी आयोगहरु गठन गरियो, जुन आयोग अदालको मर्म रभावना विपरित थियो, अर्कोतर्फ अन्तर्राष्ट्रिय मापदण्ड विपरित थियो, पीडितको पक्षमा थिएन, पीडितहरुसँग कुनै प्रकारको सम्वाद र परामर्श गरिएको थिएन ।’

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगको दुईवर्षे अवधि सकिएर पनि थपेको एक वर्ष सकिदा कुनै प्रकारको उपलब्धि हासिल नभएको भन्दै अध्यक्ष त्रिपाठीले अध्यादेश मार्फत फेरी एमवर्ष म्याद थप्न लागिएकोमा आपत्ति प्रकट गरेका हुन् ।

उनले भने ‘गत शुक्रबार बसेको मन्त्रीपरिषदले आयोगको म्याद थप्ने निर्णय गरेको छ, यो ऐनको मर्म र भावना विपरित छ, सरकारले ऐन नियम मिच्न पाउँदैन, अध्यादेश जारी गर्ने शक्तिको पनि दुरुपयोग हो, हिँसाको अन्त्य हुनुमात्रै शान्ति होईन, पीडितले न्याय नपाएसम्म शान्तिप्रक्रिया तार्किक निश्कर्षमा पुग्दैन ।’

आयोगको म्याद थपेर समस्याका सम्बोधन नहुने भन्दै अध्यक्ष त्रिपाठीले खुला र पारदर्शी प्रक्रियाबाट नयाँ आयोग गठनको प्रक्रिया थाल्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

तपाइँको प्रतिक्रिया ।