तटबन्ध निर्माणले खुशी छन्, भोटेकोशी किनारका बासिन्दा
कपन अनलाइन
-अच्युत रेग्मी
बाह्रबिसे, सिन्धुपाल्चोक, २४ पुस। भोटेकोशी नदीको दुवै किनारामा ठूलो तटबन्ध निर्माण शुरु भएपछि बाह्रबिसेका जनता खुशी भएका छन्। हरेक वर्षात्मा भोटेकोशी नदी पस्ने डरले सुत्न नपाउने गरेका बाह्रबिसे नगरपालिका–४का जनता तटबन्ध निर्माणले खुशी भएका हुन्। भोटेकोशीको दुवै किनारामा पक्की घर निर्माण भएका छन् ।
नदीको किनारामा ढलान गरेर पक्की घर बनाएका ३६ वर्षीय हरि श्रेष्ठ वर्षात् लागेपछि आफूहरु सामान लिएर अर्कोको घरमा जानुपर्ने बाध्यता रहेकोमा अहिले नदी तटबन्ध बनेपछि साह्रै खुशी देखिन्थ्ये ।‘हरेक वर्ष वर्षात्को बेला नदी बढेर सुत्न सकिँदैनथ्यो, तटबन्ध निर्माण भएपछि थोरै भए पनि राहत भएको छ,’– उनी भन्छन्।पानी परेसँगै नदी बढेर घर बगाउने डरले कयौँ दिन जाग्राम बसेको उनको अनुभव छ ।
भोटेकोशीले हरेक वर्ष बर्खायाम लागेसँगै घर, खाद्यान्न, पशुपक्षी, लत्ताकपडा र मानिससमेत बगाउने गरेको थियो । नदीको करिब ५० मिटर नजिक घर भएका ६० वर्षीय कृष्णमाया शाक्य वर्षात् समयमा नदी बढेर सुत्न नसकिने गरेको अनुभव बताउछन् । ‘अहिलेसम्म विसं २०३६, २०५८ को बाढी र गोरखा भूकम्पको बेला तीनपटक नदी ठूलो भएर भाग्नुपर्यो,’– उनी भन्छन् । भोटेकोशी नदीले गत वर्ष बाह्रबिसेका राजकुमार कोजुको घर बगाएको थियो ।
यसैगरी नदीको किनारामा घर भएका ५७ वर्षीय गणेशमाया श्रेष्ठको पीडा पनि उस्तै छ । वर्षात् समयमा पानी परेको बेला बास खोज्न पटकपटक अरुको घरमा गएको उनको अनुभव छ । यी केवल प्रतिनिधिपात्र मात्र हुन् । उहनीरुजस्ता नदीको किनारामा घर भएका थुप्रै मानिस भोटेकोशी पीडित छन् । पहाडी भेगमा कोशी क्षेत्र पहिरोको एकदमै जोखिम क्षेत्रको रुपमा लिइन्छ। पहिरो जाँदा नदी बढ्ने र ठूलो जनधनको क्षति हुने गरेको छ ।
भूगर्वविद् डा कृष्ण देवकोटा भौगोलिक दृष्टिकोणले सिन्धुपाल्चोक जिल्ला अत्यन्त जोखिमपूर्ण क्षेत्रको रुपमा रहेको बताउछन् । ‘भीरपाखा र नांगा डाँडा रहेकाले यो क्षेत्रमा अत्यन्त धेरै बाढीपहिरो जाने गरको छ,’– डा देवकोटा भन्छन् ।बाह्रबिसेको करिब चार किलोमिटर दक्षिण जुरे क्षेत्रमा विसं २०७१ साउन १७ गते ठूलो पहिरो गएको थियो । जुन पहिरोका कारण २४ घण्टासम्म नदी थुनिएको थियो भने पहिरोले तत्कालीन माङ्खा गाविसका दर्जनौँ मानिसको मृत्यु भएको थियो ।
नदीको किनारामा तटबन्धन गर्न सिँचाइ मन्त्रालयअन्तर्गत रहेको जल उत्पन्न व्यवस्थापन विभागले चार करोड एक लाख बजेट विनियोजन गरेको छ । सोही क्षेत्रका तत्कालीन सांसद एवं वर्तमान सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको पहलमा नदी व्यवस्थापनका लागि उक्त रकम विनियोजन गरिएको थियो ।
‘लामो समयदेखि सुनकोशी नदीले दिएको पीडाको समाधानका लागि उक्त क्षेत्रको तटबन्धको काम शुरु गरिएको हो,’–मन्त्री बस्नेत भन्छन् ।सिन्धुपाल्चोकको प्रमुख व्यापारिक केन्द्रका रुपमा समेत बाह्रबिसे बजारलाई लिइन्छ । भूकम्पपछि तातोपानी नाका सञ्चालनमा नआउँदा यहाँको व्यापार व्यवसायमा कमी आएको छ । बाह्रबिसे नगरपालिकाको जनसंख्या २६ हजार ४१८ छ ।