दरबन्दी अभावले सामुदायिक विद्यालयलाई समस्या

दरबन्दी अभावले सामुदायिक विद्यालयलाई समस्या

कपन अनलाइन

जाजरकोट, ७ पुस । विद्यार्थी सङ्ख्याका आधारमा शिक्षकको दरबन्दी नहुँदा यहाँका दर्जनौँ विद्यालय निजी स्रोतबाट शिक्षक राख्न बाध्य छन्।त्यसरी निजी स्रोतमा राखिएका शिक्षकले समयमै तलब नपाएको गुनासो गरेका छन् ।नयाँ दरबन्दी आउनै छाडेका कारण विद्यालयमा शिक्षक उपलब्ध गराउन नसकेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए। जिल्लाभर झण्डै आठ सय दरबन्दी अपुग रहेको उनले बताए। दरबन्दी अभाव भएका ठाउँमा विद्यालयले आफ्नो आन्तरिक स्रोतबाटै शिक्षक नियुक्त गर्ने गरेका छन् तर समयमै तलब खुवाउन भने समस्या छ ।

छेडागाड नगरपालिका–११ झाप्रास्थित जनता आधारभूत विद्यालयका शिक्षक चन्द्रबहादुर थापाले १५ महिनादेखि तलबभत्ता पाएका  छैैनन् । उनी पनि विद्यालयले आन्तरिक स्रोतबाट तलब व्यहोर्ने गरी नियुक्त भएका  हुन् । अर्का निजी स्रोतका शिक्षक भीमराज कार्कीले पनि १५ महिनादेखिको तलब नपाएको गुनासो गरे । निजी स्रोतबाट राखिएका यी शिक्षकले पढाउन थालेको ५ देखि १० वर्ष भइसकेको छ ।

यस विद्यालयमा ६ जना शिक्षक विद्यालयको आन्तरिक स्रोतबाट राखिएको छ । तीनजनाले मासिक  ११ हजार र तीनजनाले मासिक  १० हजार तलबभत्ता पाउने गरी नियुक्त गरिएको छ । नियमित आम्दानी नहुँदा शिक्षकलाई तलब खुवाउन समस्या परेको विद्यालयले जनाएको छ ।

‘सरकारबाट तलब खाने शिक्षकलाई चार महिनामा चौमासिक तलब आउँछ भने हामीलाई आठ महिनाको, कहिलेकाहीँ चौमासिक तलब पनि आउने गरेको छ,’ त्रिवेणी नलगाड नगरपालिका–८ को पञ्चभयार माध्यमिक विद्यालयमा गणितका शिक्षक रवीन्द्र खत्रीले भने ।यस विद्यालयमा निजी स्रोतबाटै नियुक्त भएकी शिक्षिका मीना बिसीले पनि सात महिनाको तलब नपाएको गुनासो गरिन् । सामुदायिक विद्यालय भएकाले शुल्क लिन पनि पाइँदैन ।

‘आम्दानीको कुनै माध्यम नहुँदा खर्च टार्न तथा शिक्षकलाई तलब खुवाउन समस्या छ,’ पञ्चभयार माविका प्रधानाध्यापक हुमप्रकाश सिंहले भने । सरकारले दरबन्दी नदिए पनि पिसिएफ रकम दिँदा विद्यालयलाई केही राहत भएको थियो तर गत वर्षदेखि सरकारले पिसिएफ रकम दिन पनि बन्द गर्‍यो । त्यसपछि शिक्षकलाई तलब खुवाउन समस्या परेको प्रअ हुमप्रकाशले  बताए ।

तपाइँको प्रतिक्रिया ।