कपनका दलित अगुवाहरु नै प्रचण्ड प्रमुख अतिथि हुने भएपछि कार्यक्रममा भाग नलिने
कपन अनलाइनकपनमा हुने भनिएको छुवाछुतमुक्त कपन कार्यक्रममा कार्यक्रम संयोजकले आफू खुशी आफ्नै पार्टीका अध्यक्ष प्रचण्डलाई प्रमुख अतिथि बनाउने निर्णय गरेपछि यो कार्यक्रम क्रमशः झनै औचित्यहिन बन्दै गएको छ । भोलिबाट शुरु हुने भनिएको कार्यक्रमको पूर्वसन्ध्यामा आज साँझ बसेको सर्वदलीय तथा दलित अगुवाहरुको भेलामा दलित अगुवाहरुले कार्यक्रममा भाग नलिने जनाए । पूर्व प्रतिवद्धता विपरित राजनीतिक नेतालाई कार्यक्रमको प्रमुख अतिथि बोलाएर दलितहरुबीच राजनीतिक फुट ल्याउन खोजेका उनीहरुको आरोप थियो । दलित अगुवा संगम गहतराज, अर्जुन रिजाल बि.क., राजु परियार, कृष्णबहादुर सुनारले दलितको कार्यक्रम एकलौटी एमाओवादीको राजनीतिक कार्यक्रममा परिणत भएकोले यो प्रकृया नसच्चिए यस कार्यक्रममा भाग नलिने बताएका हुन् ।
कपनमा रहेका सातै दल तथा केही दलित अगुवाहरुको सर्वदलीय भेला आयोजना गरिएको थियो । कार्यक्रम संयोजक महेन्द्र सुनारले यो भेल डाकेका थिए । भेलामा कार्यक्रम संयोजक महेन्द्र सुनारको तर्फबाट बोल्दै डम्बर अधिकारीले प्रचण्ड बोलाएर कुनै गल्ति भएको छैन, यसले यो कार्यक्रमको अझै उचाई बढ्ने भन्दै अरु पार्टीका शीर्ष नेताहरुलाई विशेष अतिथिको रुपमा राख्न सकिने बताए । उनले यदि यो कार्यक्रममा कांग्रेस एमाले लगायतका ६ दलले सहयोग नगरे गाविसका अन्य कार्यक्रमहरुमा पनि सहकार्य हुन गारो पर्ने बताएका थिए ।
एमाओवादी कपनका अध्यक्ष शिव बजगाईंले लचिलो बन्दै गल्ति भएको माफि माग्दै कार्यक्रममा सहभागि हुन सबै दल तथा दलित अगुवाहरुलाई पटक पटक आग्रह गरेका थिए । कार्यक्रम संयोजक तथा आयोजकले पूर्व सहमति विपरित राजनीतिक नेतालाई प्रमुख अतिथि बनाउने गलत निर्णय भएकोमा माफि मागेका हुन् । गल्ति भैसकेको हुँदा माफी गरिदिन अनुरोध गर्दै यस्ता गल्ति नदोहोर्याउने प्रतिबद्धता पनि जाहेर गरेका थिए । तर यस कार्यक्रमका संयोजक महेन्द्र सुनार तथा उनको तर्फबाट बोल्ने डम्बर अधिकारी भने कुनै पनि गल्ति भएको कुरा स्वीकारेनन् ।
सर्वदलीय कार्यक्रम भनिएको भेलामा बोल्दै एमाले कपनका अध्यक्ष ध्रुवराज न्यौपानेले दलितहरुको कार्यक्रम भएकोले उनीहरुका लागि आफ्नो पार्टी हदैसम्म लचिलो हुन तयार रहेको बताएका थिए । उनले एमाओवादीले पटकपटक गल्ति गर्ने अनि उल्टै अरु पार्टीलाई धम्काउने गरेको प्रति रोष प्रकट पनि गरे । उनले कपनमा हुन लागेको दलितको यो कार्यक्रममा प्रचण्ड प्रमुख अतिथि आउने हो भने नेकपा एमाले आउन नसक्ने बताउँदै व्यक्तिगत रुपमा आफू उपस्थित हुन सक्ने बताएका थिए । उनले पटकपटक मिलेर जाने वातावरण बनाउन आयोजकलाई आग्रह गरेका थिए ।
नेपाली कांग्रेसका प्रतिनिधिका रुपमा उपस्थित कपन इकाई उपसभापति टंकप्रसाद सापकोटाले आयोजकले गल्ति भएको भनेर माफि नमागेसम्म वार्ताको औचित्य नभएको बताए । सापकोटाले प्रचण्डनै प्रमुख अतिथि हुने कार्यक्रममा आफ्नो पार्टीको कुनै सहभागिता नहुने जनाउँदै केन्द्रिय प्रतिनिधिको रुपमा आउन लागेका मिन विश्वकर्मालाई पनि रोकिएको जानकारी दिए ।
नेकपा माओवादीका तर्फबाट बोल्दै कपन इन्चार्ज ध्रुवकुमार बस्नेतले प्रचण्डलाई प्रमुख अतिथिको रुपमा ल्याउने कुरा भूलबस नभई नियतबस गरिएकोले आफु यो कार्यक्रममा सक्रिय सहभागि नहुने बताए । उनले कार्यक्रम विथोल्ने वा कार्यक्रमप्रति कुनै अनर्गल कुरा गर्ने आफ्नो योजना केही नभएको बताउँदै आफू तथा आफ्नो पार्टी सहभागि नभए पनि आयोजकलाई सफल कार्यक्रमको शुभकामना दिए । कार्यक्रममा राप्रपाका राजाराम सिलवाल, नेकपा संयुक्तकी अनिता उप्रेतीले पनि संयोजकको एकलौटी निर्णयको बिरोध गरेका थिए ।
यसअघि कार्यक्रम संयोजक महेन्द्र सुनारले प्रचण्डलाई प्रमुख अतिथि बनाउँने निर्णय गरेपछि कपनमा रहेका एमाओवादीबाहेकका ६ दलले संयुक्त भेला गरी यो कार्यक्रम पार्टीगत कार्यक्रम हुन गएकोले भाग निलिने निर्णय गरेका थिए । बाँकी पार्टीहरुको यस्तो निर्णयपश्चात आयोजक तथा एमाओवादीले प्रमुख अतिथि प्रचण्डको पर्चा सार्वजनिक गरेको थियो ।