कपन अनलाइन मिडिया पार्टनर हैन
कपन अनलाइन समाजको पिछडिएको वर्गको हकहित तथा अधिकारका लागि कपन अनलाइन सदैव सकारात्मक आवाजको पक्षमा छ । भेदभाव तथा छुवाछुतरहित समाजको पक्षमा कपन अनलाइन आफ्ना कलमलाई नियमित चलाउनेछ चलाइरहनेछ । कपनका करिब १००० को संख्यामा रहेका दलितको पक्षमा कुनै राजनीतिक विल्ला नलगाई सामाजिकरुपमा लड्न कपन अनलाइन तयार छ । तर राजनीति अभिष्टता पूरा गर्ने नियतवश गर्ने वा हुने समाज फुटाउने कार्यप्रति भने हामी सशक्त आवाजसहित विरोध गर्नेछौं । कपन अनलाइन कपन क्षेत्रको विकास पत्रकारिता हो । हामी विकासको पक्षमा छौं विनासको पक्षमा छैनौं । कुनै मिशन वा राजनीतिक अभिष्टता पूरा गर्न यो अनलाइन कपनमा हुर्किएको हैन । त्यो भनेर राजनीति तथा राजनीतिक दल विरोधी भनिएको हैन । आवश्यक ठाउँमा मात्र राजनीति गरौं भन्ने हाम्रो धारणा हो ।
कपनमा हुने भनिएको छुवाछुतमुक्त कपन कार्यक्रमको कुरा ढिलोगरी समाचार प्राप्त गर्दा पनि कपन अनलाइन खुशी भएको थियो । कार्यक्रमका संयोजकलाई यस अनलाइनका सम्पादकले २७ जेठमा भेट्दा हामीले सकारात्मक कुराको सदैव साथमा रहने जनाउँदै ब्यक्तिगत अभिष्ट पूरा गर्ने वा राजनीतिक बिनाको कार्यक्रमको शुभकामना कपन अनलाइनले दिएको हो । सो भेटमा राजनीतिक नेताहरु ल्याएर चुनावी माहौल वा पार्टी ठूलो बनाउने कार्यक्रम हुने हो भने हामी पक्षमा हुन्नौ पनि भनिएको थियो ।
अहिले कपनमा झुण्ड्याइएका ब्यानरहरुमा कपन अनलाइनलाई मडिया पार्टनर भनेर लेखिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । कुनै पनि सहमति तथा सम्झौता नभइकन हाम्रो नाम मिडिया पार्टनरको रुपमा लेखेर कार्यक्रम आयोजकले गम्भीर त्रुटी गरेको छ । कपन अनलाइन सबै आफ्ना पाठक तथा सर्वसाधरणमा हामी यस कार्यक्रमको मिडिया पार्टनर नरहेको जानकारी गराउन चाहन्छ ।