अत्यधिक चिसोका कारण कक्षाकोठा बाहिरै पठनपाठन

अत्यधिक चिसोका कारण कक्षाकोठा बाहिरै पठनपाठन

कपन अनलाइन 

मनाङ, २३ कात्तिक । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि मनाङका अधिकांश विद्यालयले कक्षाकोठा बाहिरै पठनपाठन गराउँदै आएका छन् । हिमालको छेवैमा रहेका विद्यालय र शून्य डिग्री तापक्रम वरिपरि हिमपातका कारण कक्षाकोठामा बढी चिसो हुने भएकाले कक्षाकोठामा पठनपाठन गर्न कठिन भएको र चिसो बढेपछि सधैँ बाहिर पठनपाठन गर्दै आएको बताउछन् अन्नपूर्ण मावि मनाङका शिक्षक चित्रकला पराजुली ।

बिहान १० देखि ३ बजेसम्म अलिअलि घाम लाग्ने र घामको ताप रहुन्जेल सहज हुने भएकाले बालबालिकालाई घाममा राखेर पढाउँदै आएको उनले बताए। यसरी कठिन परिस्थितिमा पनि आफूहरुले विद्यालयको पठनपाठनलाई निरन्तरता दिएको साथै सार्वजनिक बिदामा पनि विद्यालयमा पठनपाठन भएको बताउछन् अन्नपूर्ण मावि मनाङका प्रअ आन्नदराज घिमिरे ।

नेपालका अधिकांश सरकारी विद्यालय सार्वजनिक बिदाका दिनमा बन्द भए पनि मनाङको माथिल्लो भेगमा रहेका विद्यालयमा पढाइ हुने गरेको पाइन्छ ।

चिसोका कारण विद्यार्थी र शिक्षकमा स्वास्थ्य समस्या आएकाले चिसोबाट बच्न र बचाउन पनि कक्षाकोठा बाहिर पठनपाठन गर्न बाध्य भएको बताउनुहुन्छ शिक्षिका टीककुमारी विक । यसरी कक्षाकोठा बाहिर अध्यापन गराउँदा विद्यार्थीको पढाइ र सिकाइ कतिको प्रभावकारी होला भन्ने जिज्ञासा जनमानसमा बढेको छ ।

तपाइँको प्रतिक्रिया ।