छम्केमा पहिलोपटक बस पुगेपछि स्थानीयमा खुशीयाली
कपन अनलाइन
—सुशीला रेग्मी
रामपुर (पाल्पा), १६ कात्तिक। रामपुर नगरपालिकाको विकट र दुर्गम मानिने वडा नं १ को छम्के गाउँमा पहिलोपटक बस पुगेको छ। नगरपालिकाको केन्द्रदेखि झण्डै पैदल तीन घण्टाको दूरीमा पर्ने छम्के गाउँमा पहिलोपटक बस पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।
बुधबार रामपुर यातायात व्यवसायी समितिमा दर्ता भएको ना ६ ख ७५८० नम्बरको बस पहिलोपटक छम्के गाउँमा पुगेको हो । यात्रुलाई नियमित रुपमा सेवा दिने उद्देश्यले छम्के गाउँमा बस सेवा शुरु गरिएको समितिका अध्यक्ष एवं गाडी धनी राजन पोखरेलले बताए । गाउँमा बस पुगेको खुशीयालीमा स्थानीयवासीले खुशी हुँदै समिति, बस धनी, गाडी चालक तथा सहचालकलाई फूलमालाले स्वागत गरेका थिए ।
यहाँ नियमितरुपमा बस सेवा सुचारु भएपछि नगरपालिका कार्यालयसम्म आउन जान, सदरमुकाम तानसेन, बुटवल, पोखरा, काठमाडौँ लगायतका विभिन्न स्थानमा यात्रा गर्न सहज हुने स्थानीय सन्तोष अधिकारी बताउछन् । यहाँबाट अन्यत्र जानका लागि समयमा नै बसपार्क पुग्न नसक्दा गाडी छुट्ने समस्याले बीचमै फर्किएर आउनुपर्ने समस्या अब भने सहज हुने देखिएको छ ।
घरदैलोबाटै बस चढ्न पाएपछि यस क्षेत्रका स्थानीयलाई यात्रा गर्न मात्र नभई यहाँ उत्पादित कृषिजन्य सामग्री बजारसम्म पु¥याउन सजिलो पर्ने भएको छ । छम्के गाउँमा रामपुरको बजारदेखि जिप सेवा सञ्चालन गरिएपछि अत्यधिक यात्रुको चाप बढ्दो रहेको हँुदा यात्रुले निकै जोखिमपूर्वक गाडी चढ्न बाध्य थिए । बस सेवा सञ्चालनमा आएपछि यात्रुले आरामदायीरुपमा यात्रा गर्न पाउने भएका छन् ।