शुक्रबारदेखि जावलाखेलमा पुष्प प्रदर्शनी हुदै
कपन अनलाइन
काठमाडौ, असोज २५ ।
यही असोज २७ गते देखि २९ गतेसम्म फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा दीपावली २०७४ को अवसरमा जावलाखेलमा ११औँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी मेला हुने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले पुष्प व्यवसायीले उत्पादन गरेका फूललाई आम जनमानसलाई देखाउन र गुणस्तरीय फूलको व्यापार गर्नका लागि यो प्रदर्शनी गर्न लागेको जानकारी दिएका छन् ।
रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नारा साथ मेलामा ४४ वटा व्यावसायिक, सूचनामूलक स्टल ३ वटा र प्रतिस्पर्धात्मक तीनवटा गरी जम्मा ५० स्टल रहनेछन् । प्रतियोगितात्मक प्रदर्शनीमा गोदावरी फूल स्पाईडर, मिनियचर, इन्क्रर्भ र रिफ्लेक्स प्रतिस्पर्धामा सहभागी हुने छन् ।
नेपालका लागि आवश्यक फूल नेपालमै उत्पादन गर्न सकियोस् तथा नेपाली फूलको बजार व्यापक विस्तार गर्न सकियोस् भन्ने यस मेलाको उद्देश्य रहेको आयोजकले जनाएका छन् । नेपालमा पुष्प व्यवसाय यस आर्थिक वर्षसम्म आइपुग्दा लगभग ३९ जिल्लामा ६७८ पुष्प व्यवसाय विस्तार भइसकेको छ । सो संस्थाले गत आर्थिक वर्षमा रु एक अर्ब ७१ लाख बराबरको कारोबार गरेको छ ।