‘वडाकी आमा’लाई सम्मान

‘वडाकी आमा’लाई सम्मान

कपन अनलाइन 

त्रिशूली, नुवाकोट, ११ असोज । विदुर नगरपालिका–५ कार्यालयले वडाभरिकै वृद्धा ९८ वर्षीया सरस्वती अर्याललाई ‘वडाकी आमा’ का रुपमा मंगलबार सम्मान गरेको छ । विदुर –५ देवीघाटस्थित ज्येष्ठ नागरिक अध्ययन प्रतिष्ठानमा मंगलबार आयोजित कार्यक्रममा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य महेन्द्रबहादुर पाण्डेले सम्मान गरेका हुन्।

विसं १९७५ मा जन्मिनुभएकी अर्यालाई वडाभरिकै ज्येष्ठ नागरिक भएकाले सम्मान गरिएको वडा नं ६ का वडाध्यक्ष शिवकुमार चित्रकारले बताए। ‘वडाकी आमा’ अर्याललाई वडा कार्यालयबाट प्रदान गरिने सिफारिस तथा अन्य सबै सेवा निःशुल्क प्रदान गरिने छ । कार्यक्रममा वडाभरिका १४८ ज्येष्ठ नागरिक र ४४ दलित ज्येष्ठ नागरिकलाई पनि जाडोमा ओढ्ने कम्बलसहित सम्मान गरिएको थियो ।

सो अवसरमा नेकपा(एमाले)का पोलिटब्यूरो सदस्य महेन्द्रबहादुर पाण्डेले ज्येष्ठ नागरिकको स्याहारसुहार, औषधोपचार र पालनपोषणको जिम्मा सरकारले लिनुपर्ने बताए । कार्यक्रममा एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडा र युवा नेता केशव पाण्डे, विदुर नगरपालिका का उपप्रमुख गीता दाहाल अर्याल, पूर्वप्रमुख ठाकुर गजुरेललगायतले ज्येष्ठ नागरिकबाट समाजले सिकेर समृद्ध समाज निर्माणमा लाग्नुपर्ने धारणा राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।