कोरियाली समस्याको शान्तिपूर्ण समाधान– चीन
कपन अनलाइन
संयुक्त राष्ट्रसंघ, ५ असोज । कोरियाली समस्याको शान्तिपूर्ण समाधान खोज्नुपर्नेमा चीनले जोड दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यिले सो धारणा राखेका हुन् । चिनियाँ विदेशमन्त्री यि हाल संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताका लागि अमेरिकामा छन् । उनले मङ्गलबार अमेरिकी उपराष्ट्रपति माइक पिन्ससँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
सोही भेटकाक्रममा उनले सो धारणा राखेका प्राप्त समाचारमा जनाइएको छ । उनिबीच कोरियाली प्रायद्वीपमा पछिल्लो समयमा जारी रहेको आणविक परीक्षणका विषयमा कुराकानी भएको बताइएको छ । उनिहरुबीच आपसी कुराकानी र वार्ताका माध्यमबाट उक्त क्षेत्रमा शान्ति स्थापनाको बारेमा सहमति भएको बताइएको छ ।
सो भेटकाक्रममा अमेरिकी उपराष्ट्रपति पिन्सले आगामी दिनमा अमेरिका र चीनले आपसी हित र कोरियाली समस्या समाधानमा आवश्यक वार्ताका माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
त्यस वार्ताका क्रममा उहाँहरुबीच केही समयपछि हुन लागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणका विषयमा पनि कुराकानी भएको थियो । त्यसैगरी सो भेटवार्ताका क्रममा आपसी हित र अन्य द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।
पछिल्लो समयमा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सि चिनफिङबीचको सम्बन्ध राम्रो रहेको छ । उहाँहरुले गएका दुई हप्तायतामात्र पनि दुई पटकसम्म फोन वार्ता गरेका छन ।