एएफसी ले एन्फा लाई ६ हजार अमेरिकी डलर जरिवाना भराउने
काठमाडौ, ६ जेठ । एशियन फुटबल कन्फेडेरेशन (एएफसी) अनुशासन समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) गरेको छ। एएफसी च्यालेञ्ज कप छनौट चरण अन्तर्गत दशरथरंगशालामा भएको नेपाल-बंगलादेशबीचको खेलमा सुरक्षा कमजोरी भएको भन्दै एएफसीले यस्तो निर्णय गरेको हो। एएफसी अनुशासन कमिटीको १४ मे मा क्वाललाम्पुरमा बसेको बैठकले निर्णय गर्दै भनेको छ- ‘अनुशासनसम्बन्धी दफा ६७ उल्लंघन गरेकाले एन्फालाई ६ हजार अमेरिकी डलर जरिवाना गर्ने निर्णय गरिन्छ।’ एएफसीको आधिकारिक वेबसाइटका अनुसार एन्फाले निर्णय भएको ३० दिनभित्र यो जरिवाना बुझाइसक्नु पर्नेछ। बंगलादेश र नेपालबीचको सो म्याचमा बंगाली खेलाडीलाई लक्ष्यित गर्दै घरेलु दर्शकले मैदानमा मोबाइल र लाइटर फ्याँकेका थिए। सो खेलमा नेपाल बंगलादेशसँग २-० ले पराजित भएको थियो। भविष्यमा हुने कुनै पनि खेलमा यस किसिमको सुरक्षा कमजोरी नदोहोर्याउन समेत एएफसीले एन्फालाई सचेत गराएको छ।