यस्ता छन नेपाली कांग्रेसका क्षेत्र नं ४ प्रादेशिक क्षेत्रका आकांक्षीहरु
कपन अनलाइन
काठमाडौ,भाद्र १९ ।
नेपाल सरकारले केन्द्रिय र प्रादेशिक निर्वाचनको मिति घोषणा गरेपछि अहिले स्थानीय स्तर सम्म निर्वाचनको चर्चा परिचर्चा सुरु भएको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो प्रतिवेदन बुझाए पछी काठमाडौं क्षेत्र नं ४ मा पनि चुनावी चर्चा र आगामी निर्वाचनमा उम्मेदवार बन्नको लागी आन्तरिक दौड सुरु भएको छ ।
यो दौड नेपाली कांग्रेस क्षेत्र नं ४ भित्र तीव्र रुपमा रहेको नेपाली कांग्रेसका एक क्षेत्रीय नेताले कपन अनलाइनलाई बताए । १ केन्द्रिय क्षेत्र र २ प्रादेशिक क्षेत्र रहने हुनाले पनि अहिले प्रादेशिक क्षेत्रमा आफ्नो दावेदारी प्रस्तुत गर्न स्थानीय नेताहरु आन्तरिक रुपमा केन्द्रिय नेताहरुकोमा धाउने क्रम सुरु भएको उनले बताए ।
नेपाली कांग्रेसका प्रादेशिक क्षेत्र निर्वाचनका आकांक्षीहरु
बुढानिलकण्ठ नगरपालिका को वडा नं १,२,८,९,१०,११,१२ र १३ तथा काठमाडौ महानगरपालिकाका वडा नं १,७,८ र ३० मिलेर बनेको केन्द्रिय क्षेत्र प्रादेशिक रुपमा २ वटा क्षेत्र मा विभाजन गरिएको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १,२,८,९,१०,११,१२ र १३ को एउटा प्रादेशिक क्षेत्र रहने छ भने काठमाडौं महानगरपालिका वडा नं १,७,८र ३० को अर्को प्रादेशिक क्षेत्र बनेको छ । यो क्षेत्र विभाजन संगै नेपाली कांग्रेसका स्थानीय नेताहरु आ आफ्नो दावेदारी आन्तरिक रुपमा प्रस्तुत गर्दै दौडधुपमा लागेका छन ।
बुढानिलकण्ठ नगरपालिका रहेको प्रादेशिक क्षेत्रमा अहिले नेपाली कांग्रेस बाट अहिले क्षेत्रीय सभापती राजु श्रेष्ठ ,पुर्व क्षेत्रीय सभापति न्हुछे नारायण श्रेष्ठ , आत्माराम पौडेल, साधुराम खड्का , काठमाडौं जिल्ला समिति सदस्य सानुकान्छा श्रेष्ठ,क्षेत्रीय सचिव विनोद चालिसे लगायतका आकांक्षी रहेको नेपाली कांग्रेस क्षेत्र नं ४ का एक सदस्यले कपन अनलाइनलाई बताए।
त्यस्तै काठमाडौं महानगरपालिकाका ४ वटा वडा मिलेर बनेको प्रादेशिक क्षेत्रमा पुराना र नया नेताहरुको बाहुल्यता रहेको छ । नेपाली कांग्रेसमा यस प्रादेशिक क्षेत्रमा नरोत्तम बैध,कर्मा छिरिंग शेर्पा ,सुशील नाहाटा , ,श्याम संगत , श्रीराम लामिछाने ,नर्वदा पोख्रेल ,विनोद बाबु प्रधान , अनार बस्नेत ,राधा घले लगायतका आकांक्षी रहेको नेपाली कांग्रेसका एक जिल्ला सदस्यले कपन अनलाइनलाई बताए ।
दोश्रो संविधान सभाको निर्वाचनमा अत्याधिक मत सहित विजयी बनेका वर्तमान सांसद गगन कुमार थापा नै केन्द्रिय निर्वाचन क्षेत्रको उम्मेदवार हुने निश्चित प्राय रहेको छ।