कपन अनलाइन
काठमाडौँ, २३ साउन । प्रशान्त स्मृति समाजले यसवर्षको ‘प्रशान्त प्रतिभा छात्रवृत्ति’ ललितकला क्याम्पसका प्रदीपपल साउद, सिर्जना कलेज अफ फाइन आर्टस्का छिरिङ छाम्बेल शेर्पा र काठमाडौँ विश्वविद्यालयका शुशांक कलाप्रेमी श्रेष्ठलाई प्रदान गरेको छ ।
त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको स्नातक तहमा ललितकला विषयमा उत्कृष्ट अंक ल्याएका ती विद्यार्थीलाई आज आयोजित कार्यक्रममा छात्रवृत्तिबापत रु १५ हजार सहित प्रशंसा पत्र दिइएको हो ।
कवयित्री ग्रेटा राणाले उनिहरुलाई छात्रवृत्तिबापतको सो रकम प्रदान गर्दै सामाजिक रुपान्तरणका लागि कला तथा साहित्यको महत्वपूर्ण भूमिका हुने बताए ।
उनले कलाकारका सिर्जनाले समाजलाई सकारात्मक परिवर्तन गराउन सक्ने बताउँदै यसबाट मुलुकको राष्ट्रिय एकता र सद्भावमा योगदान पुग्ने बताए ।
समाजका अध्यक्ष वर्षगोपाल वैद्यले ललितकला क्षेत्रको विकासका लागि विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले सो पुरस्कारक स्थापना गरिएको जानकारी दिए ।
चित्र लेखनमा क्रियाशील कलाकार प्रशान्त श्रेष्ठ विसं २०५६ मा ३१ वर्षको उमेरमा निधन भएपछि उनको स्मृतिमा सो छात्रवृत्रि स्थापना भएको हो । रासस