संविधान बनाउन नसकेको भन्दै सुनिलबाबु पन्तले सभासद् हुँदाको साढे नौ लाख रुपैयाँ तलब फिर्ता
ललितपुर, १६ फाल्गुन । निलहिरा समाजको नवीकरणमा समस्या आएपछि पूर्व सभासद् सुनिलबाबु पन्तले सभासद् हुँदा आफुले प्राप्तगरेको सम्पूर्ण तलब हिजो सरकारलाई फिर्ता गरेका छन् ।
पछिल्लो ११ महिनादेखि संविधान बनाउन नसकेको भन्दै तलब नलिएका सभासद् पन्तले करिब साढे नौ लाख रुपैयाँ संसद सचिवालयमा फिर्ता गरेका हुन् ।
यौनिक तथा अल्पसङ्ख्यक समुदायका मानिसलाई आफ्नो पहिचानसहित समाजमा खुलेर आउनका लागि उनले निलहिरा समाजको स्थापना गरेका थिए । पछिल्लो समय संस्थामा चरम भ्रटाचार भएको भन्दै संस्थाको नविकरण रोकिएको थियो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी चुडामणी शर्माले सभासद् भएका समयको तलब सरकारलाई फिर्ता गरेमात्र नविकरण गर्ने शर्त राखेपछि पन्तले सो अवधिको तलब रकम फिर्ता गरेको बताए ।
विसं २०५८ मा निलहिरा समाजको स्थापना गरिएको थियो । स्थापनाकालदेखिका सम्पूर्ण आर्थिक कारोबारलाई स्पष्ट रुपमा प्रस्तुत गर्दा पनि प्रमुख जिल्ला अधिकारीले नमानेपछि तलब फिर्ता गरेको पन्तले बताए । रासस