सातौँ राष्ट्रिय ललितकला प्रदर्शनी सुरु

सातौँ राष्ट्रिय ललितकला प्रदर्शनी सुरु

कपन अनलाइन 

काठमाडौँ, ५ असार । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले मानव ज्ञान, विवेक सिर्जना गर्न र समाजमा शिक्षाको उज्यालो फैलाउन कलाकारको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आज यहाँ आयोजित सातौँ राष्ट्रिय ललितकला प्रदर्शनीको उद्घाटन गर्दै उहाँले कलाकारको हरेक सिर्जनाले समाजमा रहेका मानव जातिमा सूचनात्मक सन्देश प्रवाह गर्न मद्दत पुग्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले मौलिक नेपाली कलाकृतिले अन्तर्राष्ट्रिय जगत्मा समेत देशको प्रतिष्ठा बढाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले स्वदेशी कलाकारका कलाकृतिलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्वन गर्न आफ्नो संस्था सक्रिय रहेको बताउनुभयो ।

कार्यक्रममा कलाकारिता क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विभिन्न महानुभावलाई सम्मान गरिएको थियो । अरनिको राष्ट्रिय लालितकला प्रज्ञा सम्मानबाट दुर्गा बराल र रवीन्द्र ज्यापू पुरस्कृत हुनुभयो । पुरस्कारको राशि जनही रु एक लाख र सम्मानपत्र रहेको छ ।

त्यस्तै, राष्ट्रिय ललितकला पुरस्कारअन्तर्गत आधुनिकततर्फ  कृष्ण लामा, परम्परागत चित्रकलातर्फ समुन्द्र सिंह श्रेष्ठ, आधुनिक मूर्तिकलामा दिलन मर्हजन, हस्तकलामा डिल्लीराज शाक्य, लोककलातर्फ कमला सुतिहार तथा कार्टुनमा रवीन्द्र मानन्धर पुरस्कृत हुनुभयो । उहाँहरु हरेकले रु ६० हजार प्राप्त गर्नुभयो ।

त्यसैगरी, विशेष पुरस्कारअन्तर्गत परम्परागत चित्रकला, आधुनिक चित्रकला, मूर्तिकलामा विशेष योगदान पु¥याउने रमेश शाक्य, देवेन्द्र गुरुङ, कृष्णगोपाल गारु, रेमनी मण्डल, हरि महर्जन कञ्चन तामाङलगायत सम्मानित हुनुभयो । उहाँहरु हरेकले रु २५ हजार प्राप्त गर्नुभयो ।

आजदेखि सुरु भएको उक्त चित्रकला प्रदर्शनी यही असार २० गतेसम्म सञ्चालन हुनेछ । रासस

तपाइँको प्रतिक्रिया ।