ओलीलाई प्रचण्डको जवाफ-इमान बोलेर होइन व्यवहारमा देखाउनुहोस्
कपन अनलाइन
२३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई शेरबहादुर देउवाले कुनै दबाब दिएको कारण पदबाट राजीनामा नदिएको बताए। मंगलबार बसेको व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै प्रधानमन्त्री दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कडा रूपमा जवाफ दिँदै इमानको मुखले भनेर भन्दा व्यवहारमा स्थापित गर्न चुनौतीसमेत दिएका छन्।
दोस्रो चरणको निर्वाचन गरेर छाड्छु भनेको भए कांग्रेसले छोड् भन्न नसक्ने अवस्था भएको भन्दै दाहालले आफू कसैको दबावमा नभई समझदारी अनुसार राजीनामा दिएको बताए।
एमाले र माओवादीबीच भएको सत्ता हस्तान्तरणको समझदारी पालना नभएको स्मरण गर्दै उनले इमानको मुखले भनेर भन्दा व्यवहारमा स्थापित गर्नुपर्ने बताए।
‘निर्वाचनको सुनिश्चितता गर्न पनि आफैंले देउवासँग पहिलो चरणको चुनाव गरेर दोस्रो चरणको निर्वाचनको वातावरण बनाउन सकिन्छ भनेको हुँ,’ उनले भने,‘ विगतमा एमालेसँग भएको सहमितको पालना नभएपछि आफूले कांग्रेससँग सहमति गरी प्रधानमन्त्री बनेर अहिले समझदारीको पालनाको सुरुवात गरेको हुँ।’
उनले प्रतिपक्षी दलका नेता ओलीले आफू मात्रै इमान्दार भएको भनार्इप्रति प्रतिवाद गर्दै इमान्दारीताको कसी बोलीमा होइन व्यवहारमा देखिने बताए।