माघबाट जोरधाराले ४ लाख लिटरको ट्यांकी बनाउने
कपन अनलाइनजोरधारा खानेपानी संस्थाले आफ्ना ८०० उपभोक्ताहरुलाई दीर्घकालिनरुपमा खानेपानीको सुविधा प्रदान गर्ने कार्यक्रम अनुसार ४ लाख लिटरको भूमिगत ट्यांकी निर्माण प्रकृया सुरु गर्ने भएको छ । पोलिथिन ट्यांकीबाट पानी बाँड्दा भरपर्दाे हुन नसकेपछि केही वर्षअघिदेखि नै भूमिगत पानी ट्यांकीको अवधारणा ल्याइएको थियो । ठूलो पूँजि लगानि हुने भएकोले यो कार्य कार्यान्वयन हुन सकेको थिएन ।
यही भूमिगत ट्यांकी निर्माणका लागि पूँजि जुटाउन भनेर गत साउन महिनामा भागवत महायज्ञ लगाइएको थियो । यो यज्ञबाट संकलित रकम मुक्तिनाथ बाबाको ट्रष्ट र जोरधारालाई आधाआधा गराइने भनिए पनि मुक्तिनाथ बाबाले खातामा बाँकी रहेको र वाक्दानबाट उठ्न बाँकी रकम जोरधारालाई नै दिएपछि ट्यांकी बनाउने प्रकृया सुरु भएको हो ।
आउँदो माघको पहिलो हप्ता शिलान्याससहित कार्य सुरु गर्ने प्रकृयाअन्तर्गत निर्माण समिति बनाएर कागजी प्रकृयामा जोरधारा जुटेको छ । करिब ४० लाख लगानी लाग्ने भूमिगत ट्यांकी निर्माणका लागि बैशाखसम्म लाग्ने अनुमान गरिएको छ । हाल जोरधारासँग महायज्ञको बाँकी रकम करिब ६ लाख ८० हजार र वाक्दानबाट करिब १२ लाख रकम पूँजिको रुपमा रहेको छ । अझै यो ट्यांकी निर्माणका लागि २० देखि २२ लाख अभाव हुने भएकोले सबै उपभोक्ता तथा सुभेच्छुकसँग जोरधारा खानेपानीले सहयोगको अपेक्षा गरेको अध्यक्ष डिल्लिप्रसाद ढकालले कपन अनलाइनसँग भने ।
पुषको २३ गते नै सिलान्यास गरिने कार्यक्रम रहे पनि गंगाबहादुर श्रेष्ठ भन्ने व्यक्तिले जोरधारा विरुद्ध अख्तियारमा उजुरी गरेपछि लेखापरीक्षकहरु र कपनमा प्रमुख राजनीतिक दलहरुसँग आवश्यक छलफलको प्रकृया चलिरहेको पनि अध्यक्ष ढकालले बताए । यो ट्यांकी निर्माणपश्चात पानी बाँड्ने प्रकृया सहज तथा प्रभावकारी हुने भएकोले जोरधारा टिम यो ट्यांकी निर्माण छिटोभन्दा छिटो निर्माण गर्ने योजनाका साथ अगाडि बढेको उनले बताए ।