बुनपा १२ मा योजनासहित प्रस्तुत भयो एमाले
कपन अनलाइन, काठमाडौँ । नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ नववर्षको शुभकामना आदानप्रदानको औपचारिक कार्यक्रमसहित स्थानीय तहको निर्वाचनमा होमिएको छ । चैत २६ गते शनिवार स्थानीय घटराज शालिक चोकमा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान, कार्यालय उद्घाटन तथा निर्वाचन परिचालन कार्यक्रमको शुभारम्भको कार्यक्रम नेकपा एमालेले गरेको छ ।
शुभकामना आदानप्रदान कार्यक्रममा वडाभित्रको १५ भन्दा टोल कमिटीका अध्यक्षको परिचय गराएर चुनावी सक्रियता देखाएको थियो । वडा नं १२ कमिटिले बुद्धिजीवि, शिक्षक, पूर्व सुरक्षाकर्मी, ज्येष्ठ नागरिक, विद्यार्थी, लगायतको छुट्टाछुटै सहयोग समिति गठन गरेको जानकारी गराएको थियो ।
एमाले बूनपा १२ का अध्यक्ष पुरुषोत्तम नेपालले कार्यक्रममा आफ्नो अभिमत राख्दै राष्ट्रिय राजनीतिका कारण एमालेको आवश्यकताको पृष्ठभूमिका साथ स्थानीय तहमा एमाले किन जिताउनु पर्नेमा जोड दिए । सभाध्यक्षको भूमिकामा रहेका नेपालले एमालेले बूनपा १२ मा आफ्ना योजनाहरु प्रस्तुत गर्दै चाँडै वडाको छुट्टै घोषणा पत्र मतदाता सामु ल्याउन बताए ।
के के छन् एमालेका योजनाहरु
१) पूर्णप्रकाश नेपाल यात्री पुस्तकालय निर्माण २) घटराज साहित्य उत्थान केन्द्र निर्माण ३) बालकुमारी विद्यालयलाई कलेज बनाइने ४) वडा कार्यालय अपाङ्गमैत्री, सुविधासम्पन्न बनाइने । ५) नगरपालिकाका साथै अन्य सरकारी कार्यालयका सुविधा पनि वडाबाटै पाइने व्यवस्था मिलाइने । ६) वडा तहले प्राप्त गर्ने सम्पूर्ण संवैधानिक अधिकारको प्रयोग जनमतका आधारमा गर्ने । जसका लागि तत्काल मत लिने व्यवस्था प्रविधिको अधिकतम उपयोगबाट गर्ने । ७) बालकुमारी मन्दिरलाई धार्मिक पर्यटनस्थलको रुपमा विकास गर्ने । ८) जनताको लगानीबाट निर्मित नवदुर्गा सामुदायिक स्वास्थ्य भवन अलपत्र बनेको अवस्थामा सामुदायिक अस्पतालको रुपमा विकास गर्ने । ९) यसै वडाबाट मेलम्ची खानेपानी आयोजनाको पाइप जाने भएकाले उक्त काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँगको सहकार्यमा एक घर एक धारा अवधारणामा खानेपानीको सहज व्यवस्था मिलाउने ।
कार्यक्रममा नगर संयोजक दीपक निरौला, क्षेत्रीय अध्यक्ष कुसुम कुमार कार्की, उद्धव खरेल, मिठाराम अधिकारी लगायतले आफ्नो मन्तव्य राखेका थिए । सोही कार्यक्रममा ०५४ सालमा साविक कपन वडा नं. १ बाट विजयी वडा सदस्यहरु गविस अध्यक्ष मीठाराम अधिकारीलाई सम्मान गरिएको थियो ।