मेयर पदको दावी गर्दै इन्द्र थापा
कपन अनलाइन, काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं. ४ को राजनीतिमा देखिएका केही लामो रेसका घोडाहरुमा इन्द्र थापा पनि एक हुन् । साविक चपली गाविस निवासी इन्द्र थापा क्षेत्रीय सदस्य पनि हुन् । थापा परिवारको लामो राजनीतिक तथा सामाजिक सक्रियतालाई वर्तमान राजनीतिमा मजबुतरुपले पाइला चाल्न चाहन्छन् इन्द्र थापा ।
सामुदायिक विद्यालयहरुमध्ये यस क्षेत्रको परिचित गणेश स्कूल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका थापाले बैशाख ३१ गते हुने स्थानीय निकाय चुनावमा नेकाको तर्फबाट बुढानिलकण्ठ नगरपालिकाको मेयर पदका लागि तयारी गरिरहेको बताएका छन् । नेकाको १३ औँ महाधिवशेनपश्चात राजनीतिकरुपमा क्षेत्र नं. ४ मा विशेष सक्रियता देखाइरहेका थापा टिकटको दावी नगरेसम्म टिकट पाइने दौडमा नपर्ने बताउँछन् । उनी भन्छन्, “टिकट पाउने एउटाले हो तर त्यो एउटा हुन पनि आफ्नो उपस्थिति मजबुतरुपमा रहेको दर्शाउन भने पर्छ । सुतेर बसेर टिकट पाइने हैन ।”
गतवर्षको महा भुकम्पको बेला क्षेत्र नं. ४ र आसपासका क्षेत्रमा उनले भुकम्प पिडितका लागि गरेका बिभिन्न सकारात्मक गतिबिधिका कारण थापाको समाजसेवाको छवि अझ उज्याइलिएको बताइन्छ । नेपाली कांग्रेसको राजनीतिमा उनको सांसद तथा हाल मन्त्री रहेका गगन थापासँग निकटता रहेको बताइन्छ । थापाको यो दावीसँगै बुनपा मेयरका लागि कांग्रेसको तर्फबाट आधा दर्जनभन्दा आकांक्षीहरूले दावी गर्ने देखिएको छ । यतिखेर चर्चामा राजाराम बुढाथोकी, गणेश कोइराला, दामोदर खड्का, गोकर्ण केसी, विनोद चालिसे, न्हुच्छेनारायण श्रेष्ठ, आत्माराम पौडेल रहेका छन् ।