राप्रपामा विधान संशोधन प्रस्ताव प्रस्तुत

कपन अनलाइन 

काठमाडौँ, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनका क्रममा जारी बन्द सत्रमा आज विधान संशोधन प्रस्ताव प्रस्तुत भएको छ ।
स्थानीय भृकुटीमण्डपमा जारी कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा विधान संशोधन समितिका संयोजक बुद्धिमान तामाङले प्रस्तुत गर्नुभएको सो प्रस्तावमा सहभागीद्वारा छलफल सुरु गरिएको छ ।

उक्त प्रस्तावमा एक अध्यक्षसहित १६१ सदस्यीय केन्द्रीय समिति गठन गर्नका लागि प्रस्तुत गरिएको
छ । सोही प्रस्तावअन्तर्गत अध्यक्षको नेतृत्वमा केन्द्रीय सदस्यमध्येबाट २४ जनाको पदाधिकारी छनोट गर्नका लागि सिफारिस गरिएको छ ।

पार्टीको भावी आदर्श तथा रणनीतिका बारेमा पनि विधानमा संशोधनका क्रममा समीक्षा गरिने छ ।

यसअघि शनिबार पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र तथा राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र प्रस्तुत गर्नुभएको छ । ती दुवै प्रस्तावमाथिको छलफल अहिले स्थगन गरिएको छ ।

पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार विधान संशोधन प्रस्तावमा सहभागीको सुझावसहित परिमार्जन गरी आजै पारित गरिने छ । निर्वाचनको प्रक्रिया अगाडि बढाउनका लागि सो प्रस्ताव चाँडो पारित गर्नुपर्ने भएको छ । विधानको टुङ्गो लागेपछि मतदाता नामावली प्रकाशनको कार्य अगाडि बढाइने बताइएको छ । रासस

तपाइँको प्रतिक्रिया ।