उत्पीडित समुदायको अधिकारका लागि संविधान कार्यान्वयन– मन्त्री खड्का
कपन अनलाइन
काठमाडौँ, २८ माघ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले आदिवासी जनजाति, दलित, महिलालगायत उत्पीडनमा पारिएको समुदायको अधिकार प्राप्तिका लागि संविधानको कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय महिला आयोग र वियोण्ड बेइजिङ कमिटीद्वारा यहाँ आज आयोजित ‘दिगो विकासका लागि लैङ्गिक सशक्तीकरणमुखी प्रयास र सम्भावना’ विषयक अन्तक्र्रियामा मन्त्री खड्काले सदियौँदेखि उत्पीडनमा पारिएको समुदायको अधिकार प्राप्त गर्न जतिसक्दो चाँडो कानुन बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले महिलालाई हुने पाठेघर र स्तन क्यान्सरको निःशुल्क उपचार गर्नेबारे मन्त्रालयले तयारी गरिरहेको जानकारी दिनुभयो । महिला आयोगकी कावा अध्यक्ष भगवती घिमिरेले समग्रमा महिला हिंसाका घटना बढ्दै आएको अवस्थामा जतिसक्दो चाँडो संविधानका आधारमा कानुन बनाएर कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । रासस