गुणस्तरीय शिक्षाका लागि साझा प्रयासको खाँचो
कपन अनलाइन
काठमाडौँ, २४ माघ । शिक्षालाई गुणस्तरीय बनाउन र त्यसमा सबैको पहुँच पु¥याउन शिक्षाविद्हरुले सुझाएका छन् ।
शिक्षा मन्त्रालय, शिक्षा विभागद्वारा यहाँ आज आयोजित राष्ट्रिय प्रारम्भिक कक्षा पढाइसम्बन्धी मिडिया अभिमुखीकरण कार्यक्रममा शिक्षा क्षेत्रका सरोकारवालाले व्यावहारिक र गुणस्तरीय शिक्षामा साझा प्रयासको आवश्यकता औँल्याउनुभयो ।
शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले सबै विद्यार्थीलाई विद्यालयसम्म ल्याउनु, शिक्षामा सबैलाई समान पहुँचको अवसर दिनुलगायत शिक्षाको सवालमा राज्यसँग धेरै चुनौती रहेको बताउनुभयो ।
विभागका उपनिर्देशक विष्णु अधिकारीले प्रारम्भिक कक्षा पढाइको सफलतामा बालबालिका आफू एक्लैले भन्दा पनि अभिभावक, शिक्षक–शिक्षिका, छिमेकी तथा साथीहरूको पनि महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
शिक्षक धनञ्जय शर्माले कक्षा लिने अवधिभरि विद्यार्थीलाई बोल्न दिनेभन्दा पूरै समय शिक्षकले मात्रै बोल्ने संस्कारको अन्त्य गर्दै समग्र शिक्षण विधिमा परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो ।
सन् २०१४ युएसएआइडीले नेपालमा पहिलोपटक राष्ट्रव्यापी रुपमा सुरु गरेको प्रारम्भिक कक्षा पढाइ मूल्याङ्कनले नेपालका लागि प्रारम्भिक कक्षा पढाइ ठूलो चुनौतीका रूपमा रहेको देखाएको छ । मूल्याङ्कनअनुसार कक्षा २ मा पढ्ने ३७ प्रतिशत र कक्षा ३ मा पढ्ने १९ प्रतिशत विद्यार्थीले उनीहरूलाई पढ्न दिएका पठन सामग्रीबाट एक शब्द पनि शुद्ध पढ्न सकेनन् ।
प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कक्षा १ देखि ३ सम्म पढ्ने सम्पूर्ण नेपाली विद्यार्थीको पढाइ सीप सुधार गर्न युएसएआइडी नेपालको आर्थिक सहयोगमा शिक्षा मन्त्रालयद्वारा पाँच वर्षे परियोजना सन् २०१५ देखि सञ्चालनमा रहेको छ ।
स्न २०१४ को जुलाई १२ मा सुरु भएको यो परियोजनाले विशेषगरी सरकारको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमलाई प्राविधिक सहयोग प्रदान गर्दछ । यो कार्यक्रम पहिलो चरणमा भक्तपुर, बाँके, कञ्चनपुर, मनाङ, कास्की, सप्तरी गरी ६ जिल्ला सञ्चालन गरिएको थियो भने दोस्रो चरणमा बर्दिया, कैलाली, दाङ, डडेल्धुरा, धनकुटा, डोल्पा, मुस्ताङ, पर्सा, रूपन्देही र सुर्खेत गरी १० जिल्ला सञ्चालन भइरहेको छ । रासस