ऐतिहासिक भँड्छा महोत्सव सुरु

कपन अनलाइन 

बुटवल, १७ माघ । रुपन्देहीको रामापुरस्थित भँड्छा गाउँमा १०७ औँ भँड्छा महोत्सव तथा माघे आँैसी मेला सुरु भएको छ ।

विगत एक सताब्दीदेखि निरन्तर माघे औँसीका अवसरमा सञ्चालन हुने गरेको महोत्सवमा स्थानीय थारु जातिको संस्कृति झल्किने नाच तथा झाँकी प्रदर्शन र विभिन खेलकुद प्रतियोगिता सञ्चालन भएका छन् । तीन दिन र तीन रातसम्म लगातार सञ्चालन हुने तथा यस क्षेत्रकै ऐतिहासिक महत्वको मानिने सो महोत्सव रातिमै शुभारम्भ हुने र रातिमै सम्पन्न हुने परम्परा छ ।
सो मेलामा लाखौँको सङ्ख्यामा मानिस सहभागी हुने आयोजक समितिका अध्यक्ष टीकाराम चौधरीले बताउनुभयो ।

मेलामा स्थानीय सांस्कृतिक नृत्य, झुमडा नाच, झर्रा नाच, मयुर नाच तथा मगर संस्कृति झल्कने कौडा नाच, सोरठी नाचलगायत कला संस्कृतिसमेत प्रदर्शन गरिएको उहाँले बताउनुभयो ।
परापूर्व कालमा एक साधुले सो मेलाको सुरुवात गरेको किंवदन्ती रहे पनि विसं १९६६ देखि निरन्तररुपमा व्यवस्थित ढङ्गले सञ्चालन गर्दै आएकोे इतिहास रहेको भँड्छा गाउँ विकास समाजले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।