स्वास्थ्य मन्त्री गगन थापा १३५ स्वास्थ्य केन्द्रमा ल्याब सेवा सुरु गर्ने तयारीमा
कपन अनलाइन, काठमाडौँ । स्वास्थ्य मन्त्रालयको इतिहासमै परिवर्तन तथा प्रभावकारिता देखाउने प्रयास गरिरहेका स्वास्थ्यमन्त्री गगनकुमार थापाले देशभरका १३५ नयाँ स्वास्थ्य केन्द्रमा प्रयोगशाला तयारी राख्ने तयारी भैरहेको बताएका छन् । स्वास्थ्यका अन्य सेवासँगै प्रयोगशालालाई पनि सुविधासम्पन्न बनाउनुपर्ने बताएका छन् । यसका लागि पूर्वाधार विकास र जनशक्तिको सँगै विकास गर्नुपर्ने उनको भनाइ छ ।
स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नवनिर्मित भवन ‘नेशनल सेन्टर फर इन्फेक्सन डिजिज’ को उद्घाटन गर्दै स्वास्थ्यमन्त्री थापाले प्रयोगशालालाई सबैको पहुँचमा पुर्याउन पाँच अञ्चल अस्पतालमा प्रयोगशाला सुरु गर्ने र सुरु भएको अस्पतालमा सेवा विस्तार गर्ने बताए । मन्त्री थापाले १३५ स्वास्थ्य केन्द्रमा पनि ल्याब सेवा सुरु गर्ने र सुरु भएका स्थानहरूमा अझ स्तरीय सेवा दिने तयारी मन्त्रालयले गरेको बताए ।
त्यसैगरी कोसी अञ्चल अस्पताल, पश्चिमान्चल क्षेत्रीय अस्पताल, भेरी अञ्चल अस्पताल, सेती अञ्चल अस्पताल र जनकपुर अञ्चल अस्पतालमा क्षेत्रीय प्रयोगशालालाई बिस्तार गर्ने योजना रहेको र प्रदेश नम्बर ६ मा कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए। थापाले भने, “हामीसँग रु ६० अर्ब हुने हो भने स्वास्थ्य सेवाका लागि सम्पूर्ण प्रयोगशालासहितको सुविधा बिस्तार गर्न सकिन्छ । हामीले सोहीअनुसार काम गर्ने हो भने स्वास्थ्यमा फड्को मार्न सकिन्छ ।” विसं २०६९ फागुन १० गते शिलान्यास गरिएको सो भवन रु ६ करोड ९३ लाखको लगानीमा निर्माण गरिएको हो ।