ब्राजिलमा फेरि तेत्तीस कैदीको हत्या

कपन अनलाइन 

रियोदि जेनेरियो: ब्राजिलको आमाजनस राज्यको राजधानी मनाउसमा ५६ जना कैदीको उनीहरुकै प्रतिद्वन्द्वी समूहले हत्या गरेको खबर सेलाउन नपाउँदै रोराइमा राज्यमा शुक्रबार फेरि ३३ कैदी बन्दीको हत्या गरिएको छ ।

रोराइमा राज्यको प्रशासनले स्थानीय ‘एग्रीकोला डे मोन्टी क्रिस्टो प्रिजन’ (पिएएमसी)मा शुक्रबार जेलमा रहेका दुई प्रतिद्वन्द्वी आपराधिक समूहबीच भएको झगडा नियन्त्रणमा आइसकेको तर झडपमा दुवै समूहका गरी ३३ कैदीको मृत्यु भएको छ ।
रोराइमा राज्यका प्रवक्ताले करिब एक घन्टा भएको झडप शुक्रबार बिहानै भएको कैदीवन्दीको हत्यामा प्राय सबैलाई धारिलो हतियारको प्रयोगद्वारा मारिएकोे बताउनुभएको छ । घटनामा गोली प्रयोग भएको नपाइएको समेत उहाँले बताउनुभयो ।
स्थानीय ‘फेमिली अफ नर्थ’ समूहलाई सघाउँदै आएको रेड कमाण्ड समूहका कैदीबन्दी रियो दि जेनेरियोको लागुऔषध कारोबार सञ्जालमा सहभागी शक्तिशाली समूह हो ।
ब्राजिलमा कैदीबन्दी माथिको सुरक्षास्थितिलाई लिएर अधिकारकर्मीले निरन्तर आवाज उठाउँदै आएपनि जेलको सुरक्षास्थिति खस्किदो छ । जेल सुरक्षा मजबुत बनाउन सरकार असफल रहेको पाइन्छ ।
सरकारी अधिकारीले पछिल्लो समय आपराधिक गतिविधि बढ्दै गएका कारण जेलमा अध्यधिक चाप रहने गरेको र जेलको सुरक्षा स्थितिलाई मजबुत बनाउन झन्डै ५० प्रतिशत जनशक्ति थप गर्नुपर्ने बताएका छन् । रासस

तपाइँको प्रतिक्रिया ।