इटहरीका युवाहरुले राष्ट्रिय पोशाक दिवस मनाए
कपन अनलाइन
इटहरी, १७ पुष । इटहरीमा युवाहरुले नेपाली पोशाक दिवस मनाएका छन् । उपमहानगरपालिका क्षेत्रमा सक्रिय रोटयाक्ट क्लब अफ इटहरीको संयोजन तथा २४ भन्दा बढि गैर सरकारी सङ्घ संस्थाको सहकार्यमा आज चौथो राष्ट्रिय पोशाक दिवश इटहरीको मुख्य चोकमा सम्पन्न गर्दै राष्ट्रिय पोशाकको महत्वका विषयमा ब्यापक चर्चासमेत भएको थियो ।
कार्यक्रममा राप्रपा नेपालको बरिष्ठ नेता तथा पूर्व भूमिसुधार तथा ब्यवस्थामन्त्री रामकुमार सुब्बाले नेपालीहरुले गौरव गर्ने केही महत्वपूर्ण बस्तुहरुमध्ये राष्ट्रिय पोशाक दौरा सुरुवा टोपी तथा महिलाहरुले लगाउने साडी चोलीप्रति यदी कसैले गौरव गर्न खोज्दैन भने त्यसले नेपालीको महत्व नबुझे सरह हुने दावी गरे ।
उनले भने हामीले हामी नेपाली हुनुको पहिचान दिन सकेनौ र पश्चिमा संस्कृतिको नक्कल गरेर नेपालीप्रति उपेक्षा गर्ने गराउने कार्यमा लिप्त भयौ भने त्योभन्दा दुर्भाग्य अरु केही हुन सक्दैन ।
‘नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका साथ राष्ट्रिय पोशाक दिवसको रुपमा मनाइएको अभियानको संयोजक सस्था तथा रोटयाक्ट क्लब अफ इटहरीका अध्यक्ष बिकल पौडेलले जानकारी दिएका छन् ।
कार्यक्रममा सहभागि युवाहरुले राष्ट्रिभावले भरिपूर्ण गीतहरु मेरो टोपी कैलाशको शिर जस्तो, गाउँछ गीत नेपाली जस्ता गीतहरु सामुहीक रुपमा गाएका थिए । कार्यक्रममा सहभागि युवाहरुले नेपाली पोशाक र नेपाली टोपी लगाएका थिए । कार्यक्रममा युवाहरु मात्रै होईन बालबालिकादेखि महिला साथै ज्येष्ठ नागरीहरुकोसमेत उल्लेख्य सहभागिता थियो । कार्यक्रममा पत्रकार, साहित्यकारहरुको पनि बाक्लो उपस्थित थियो ।