२ वर्षमा स्वर्गझैँ बन्दै छ काठमाडौं क्षेत्र नं. ४

कपन अनलाइन

चावहिल, बौद्ध, सुकेधारा, गोकर्ण वा मण्डिखाटार जताबाट पस्न खोजे पनि काठमाडौं क्षेत्र नं. ४ को महत्वपूर्ण हिस्सा बोकेको बुनपाको कतिपय वडाका बाटाहरु यतिखेर लथालिंगझैँ लाग्छ । वर्षामा हिलोले सास्ती अहिले धूलोले सास्ती भन्दै मानिसहरु जनप्रतिनिधि, प्रशासन तथा सरकारसँग रिसाइरहने गरेको देखिन्छ । तथापि के भैरहेको छ वा के हुँदैछ भन्ने कुरामा कोही खोजीमा भने हिँडेका छैनन् ।

के हुँदैछ यहाँ ?

हामी यो क्षेत्र जसरी विग्रिएको देख्छौँ खासमा यो विग्रिएको हैन बन्दै गरेको अवस्था हो । बुनपाको वडा नं. १२, १३, १४, १८ र १९ तिर लाग्ने ८ वटा बाटाहरु यतिखेर निर्माणाधिन अवस्थामा छन् । यी सबै बाटाहरु आठ मिटर चौडा बन्ने क्रममा काम भैरहेको छ भने कतिपय ठाउँमा ढल र खानेपानीको पाइप ओछ्याउने काम भैरहेको छ । सडक विभागका प्रमुख इन्जिनियर धर्मेन्द्र झा भन्छन्, ‘काठमाडौं क्षेत्र नं. ४ मा पूर्वाधार विकास तथा निर्माणमा यतिखेर करिब साँढे तीन अर्बको काम भैरहेको छ ।’

कपन निवासी समाजसेवी चरित्रका भौतिक योजना मन्त्रालयका उपसचिव विसुकुमार केसी यस क्षेत्रमा भैरहेको विकास निर्माणका बारे सबैलाई जनाकारी दिलाउन चाहन्थे । चुच्चेपाटी बुढानिलकण्ठ सहायक राजमार्ग निर्माणका लागि प्रयाससमेत गरेका केसीले यो विकास निर्माणका आधिकारिक सरकारी व्यक्ति धर्मेन्द्र झालाई कपन अनलाइनसँग भेट गराए । विसुकुमार केसीलाई सदैव केही न केही विकासवादी सोचले घच्घच्याइरहेको हुन्छ । सकारात्मक सोचका कारणले उनको यो घच्घच्याईले सबैलाई उर्जा मिल्ने गरेको छ । यो विकासमा हाल स्वास्थ्य मन्त्री रहेका संसद गगन थापाको योगदान बारे पनि चर्चा होस् भन्ने केसी चाहन्थे ।

‘विकास निर्माणको प्रकृया र रफ्तारको बारे जनता सूसुचित हुन आवश्यक छ’ केसी भन्छन् । चुच्चेपाटी बुढानिलकण्ठ सहायक राजमार्गका लागि बजेट व्यवस्थापनमा समेत भूमिका निर्वाह गरेका बरिष्ठ इन्जिनियर धर्मेन्द्र झाले कपन अनलाइनसँगको भेटमा यस क्षेत्रको विकास बारे केही महत्वपूर्ण जानकारी दिए ।

काठमाडौं जिल्लाका २,३,४ र १० लाई कुनै बेला विकास हुन नसकिएको क्षेत्र भनेर चिनिन्थ्यो । यो विकासको पहँुचलाई प्रभावकारी बनाउन सांसदहरुको साथमा केसी तथा झाजस्ता माथिल्लो तहका कर्मचारीको भूमिका पनि प्रभावकारी बन्यो । सांसदहरू गगन थापा, डा राजन भट्टराईको राजनीतिमा उच्च पहुँचले पनि विकासलाई यो रूप दिन सहयोग पुगेको हो ।

क्षेत्र नं. ४ मा यतिखेर बाटोघाटो, ढल व्यवस्था र खानेपानीका पूर्वाधारमा करिब साँढे ३ अर्ब खर्च भैरहँदा यो निर्वाचन क्षेत्रले ओगटेको भूपरिधि स्वर्ग हुने कुरामा कमसेकम दुईमत छैन । विशेष गरेर तत्कालिन कपन गाविसले ओगटेको बुनपाको ५ वटा वडा निकट भविष्यमा सुन्दर बस्तीको रुपमा विकास हुँदैछ । यो ठोकुवा हो वरिष्ठ इन्जिनियर धर्मेन्द्र झा स्वयमको  ।

सिनियर डिभिजन इन्जिनियर झा भन्छन्, ‘विकास आजको भोलि हुने हैन, यसले समय लिन्छ तर विकासको पूर्वाधार यति धेरै प्रयोग भएको छ कि अबको क्षेत्र नं. ४ स्वर्ग हुने कुरामा दुई मत छैन ।’ यो कुरामा विसुकुमार केसीको पनि सहमति छ । केसी भन्छन्, ‘के के हुँदैछ भन्ने जानकारी र कसरी हुँदैछ भन्ने जानकारी जनताले थाहा नपाउँदा कहिँ कतै मिसअन्डस्ट्याडिङ भएको छ तर विकासको माथिल्लो पहुँचमा यो क्षेत्र पुगेको छ ।’ झाले तिहारको दुई दिनअघि स्वास्थ्य मन्त्री गगन थापा काम के भएको छ भनेर जानकारी लिन आफ्नो कार्यकक्षमा आएको सम्झना गर्दै  निर्माण कार्यमा तिब्रता आउनु मन्त्रीज्यूको भूमिका महत्वपूर्ण रहेको बताए ।

सडक डिभिजन कार्यालय काठमाडौ एकका डिभिजन प्रमुखसमेत रहेका धर्मेन्द्र झाले अहिले सुरु भएका र सुरु हुन बाँकी आयोजना पूरा हुन २ देखि ३ वर्ष लाग्ने बताए । झाले कपनभित्र प्रवेश गर्ने ८ वटा मार्गहरुमध्ये कतिपय ०७३ सालमै पूरा हुने बताउँदै अझ नयाँ योजनाहरु थप हुने तयारीमा रहेको पनि बताए ।

बुनपा १४ को तेन्जिङचोकमा ६ वर्षदेखि स्थायी बसोबास गरिरहेका झाका अनुसार सुकेधाराबाट भित्र छिर्ने मुखमा एक घरले हालेका मुद्धाले त्यो बाटो सुधार हुन समय लागे पनि अन्य बाटोहरु धामाधम काम सक्नेतिर अगाडि बढेको बताएका छन् । मेलाम्ची खानेपानीको पाइप बिछ्याउने कार्यका कारण सरस्वतीनगर र महाँकाल क्षेत्रको बाटो तयार हुन ढिलो भएको बताउँदै चुच्चेपाटी रामहिटी खण्ड यसै साता पिचको तयारी रहेको बताएका छन् ।झाका अनुसार महाँंकालबाट कपन हुँदै चुनिखेल चपली जाने सहायक राजमार्गको डिमार्केसन वाल लगाइँदै गरेको बताउँदै यो ठूलो आयोजना भएकाले अलि समय लाग्ने बताए । करिब साँढे ८ किलोमिटर लामो यो मार्ग सहायक राजमार्ग भएकाले कुनै दिन ३० मिटर चौडा सडक बन्ने उनले बताए । सिनियर डिभिजन इन्जिनियर धर्मेन्द्र झाले बताए अनुसार यतिखेर ८ मिटर चौडा स्वरुपमा निम्न बाटोहरु यो क्षेत्रमा निर्माणाधिन अवसथमा छन् ।

१. गोपिकृष्ण – ज्योतिनगर-  सरस्वतीनगर – भृकुटी चोक – तेन्जिङ चोक

२. ज्योतिनगर-  साततले-  एकताबस्ती

३. साततले – भण्डारी गार्मेन्ट-  आकाशेधारा-  सुन्दरबस्ती
४. आकाशेधारा – राममन्दिर
५. सुकेधारा लक्ष्मी बैंक-  एकताबस्ती-  ज्योतिनगर
६. बालुवाखानीचोक-  निखिलेश्वर मन्दिर-  धोवीखोला
७. महाँकाल-  कपन-  चुनिखेल-  चपली
८. गणेशस्कूल-  चुनिखेल-  खोलासम्म
९. बुढानिलकण्ठ मन्दिर-  मुहान पोखरी २ तिरबाट
१०. देउवा चोक-  देउवा निवास-  तौलुङ
११. मिलनचोक-  प्रहरी चौकी – आनीगुम्बा

यी ठूला बाटाहरुबाहेक ५ लाखदेखि माथि २५ लाखसम्मका १०० वटाभन्दा बढि आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेको धर्मेन्द्र झाले बताए ।

तपाइँको प्रतिक्रिया ।