संशोधनको प्रक्रिया अघि बढाए आफ्नो पार्टीलाई मान्य नहुने कमल थापाको भनाई

कपन अनलाइन 

मिन ठकुरी  
धनगढी, १६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले यथास्थितिमा संविधान संशोधनको प्रक्रिया अघि बढाए आफ्नो पार्टीलाई मान्य नहुने बताएका छन् ।
आइतबार कञ्चनपुरको महेन्द्रनगरमा हुने सुदूरपश्चिम स्तरीय आमसभालाई सम्बोधन गर्नका लागि शनिबार धनगढी पुगेका थापाले पत्रकारहरुसित कुरा गर्दै सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएदेखि नै त्यसको विरोध हुँदै आएकोले यथास्थितीमा सो प्रस्ताव यथावत राख्नुपर्ने बताए ।
अध्यक्ष थापाले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्तावले प्रम्ख प्रतिपक्षी दल एमाले लगायत ९ दल, मधेसी मोर्चा स्वयं असन्तुष्ट बनेको भन्दै यस्तो अवस्थामा जवरजस्ती संशोधनको प्रस्ताव अघि बढाए आफ्नो पार्टीलाई पनि मान्य नहुने चेतावनी दिए ।
उनले भने यथास्थितीमा संविधान संशोधनको प्रस्ताव अघि बढाउन हुन्न, सरकारले सबै राजनीतिक दलहरुबीच घनिभूत रुपले छलफल अघि बढाएर सहमती कायम गर्नुपर्छ । अध्यक्ष थापाले आफ्नो पार्टी सरकारमा भएर पनि प्रधानमन्त्रीले राप्रपासँग छलफल र परामर्श नगरी संविधान संशोधनको प्रस्ताव दर्ता गराएको आरोप लगाए ।
उनले संविधान जारी भएको १५ महिना वितिसक्दा पनि कार्यान्यव हुन नसकेको भन्दै पछिल्लो राजनीतिक घटनाक्रमले प्राप्त उपलब्धी धरापमा पर्दै जाने आशंका व्यक्त गरे । २०७४ माघ ७ गतेभित्र तिनै तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने चुनौती रहेको बताउँदै थापाले भने सरकारले आउँदो चैत बैशाखमा स्थानीय तहको निर्वाचन गराउनतिर लाग्नुपर्छ ।
प्रमुख दलहरुको अक्रमण्यका कारण निर्धारित समयभित्र निर्वाचन नहुने आशंका बढ्दै गएको छ अध्यक्ष थापाले भने यस तर्फ दलहरु गम्भिर बन्नुपर्छ । एक अर्को प्रसंगमा उनले मधेसीदलहरुले उठाएका जायज मागको संबोधन गर्नुपर्छ, नगरिकन जवरजस्ती निर्वाचन गराउनतिर लाग्दा गलत सन्देश जान्छ भने ।
उनले संविधान संशोधन विधेयक हतारमा र हचुवा ढंगबाट दर्ता गरिएकोले प्रतिपक्षीले लगातार संसद अवरुद्ध गर्दै आएको, ५ नम्बर प्रदेशका जनता आन्दोलित हुनु र मधेसी दलहरु पनि सन्तुष्ट नहुनुले सो विधेयकका दफा राष्ट्रियहित अनुकुल नभएको आरोप लगाउँदै अब नयाँ ढंगबाट समझदारी कायम गरी निकास खोजिनु पर्ने धारणा व्यक्त गरे ।
तीन ठूला दलहरुप्रति व्यंज्ञ गर्दै थापाले भने आफूलाई ठूला शक्ति भन्नेहरुबाट जनता वाक्क दिक्क भएका छन् । राप्रपा नेपाल र राप्रपा एकीकरण पश्चात बलियो शक्ति निर्माण भएको बताए । आफूहरुले संविधानमा हिन्दुराष्ट्र कायम हुनुपर्ने अडान नछोडेको उनले बताए ।
केही दिन अघि कैलालीको गोदावरीमा नियोजित तवरबाट सामूहिक गौं हत्याका भएको भन्दै अध्यक्ष थापाले त्यसबारे सत्यतथ्य छानवीन गरी दोषीलाई कानुनी कठघरामा ल्याउनुपर्ने माग गरे ।
आइतबार कञ्चनपुरको महेन्द्रनगरमा हुने सुदूरपश्चिम स्तरीय आमसभालाई सम्बोधन गर्नका लागि अध्यक्ष थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जबरा, नेता प्रकाशचन्द्र लोहनी, लगायत केन्द्रिय सदस्यहरु यहाँ आइपुगेका हुन् ।

तपाइँको प्रतिक्रिया ।