जनचाहनाअनुरुप सेवा प्रदान गर्न मन्त्री पाण्डेको निर्देशन
कपन अनलाइन, बैतडी, २ पुस ।
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हीतराज पाण्डेले राजनीतिक पूर्वाग्रहलाई त्यागेर जनचाहनाअनुरुप सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
जिल्लाका सरकारी कार्यालयका प्रमुखहरूलाई आज सम्बोधन गर्दै उहाँले सरकारी सेवालाई कर्मचारीले जवाफदेही, इमान्दार र पारदर्शीरुपमा दिन निर्देशन दिनुुभयो ।
उहाँले भन्नुभयो, “जस्तोसुकै परिस्थितिमा पनि विकास निर्माणको काम रोकिंदैन” सेवाग्राहीको सेवाका निमित्त सबैभन्दा पहिला कर्मचारी समयमा टेबुलमा उपस्थित हुनुपर्ने र कार्यालय समयसम्म रहनुपर्नेमा जोड दिँदै अनुगमनलाई प्राथमिकतामा राख्नसमेत निर्देशन दिनुभयो ।
मन्त्री पाण्डेले सरकारले संविधान संशोधन र विवादित जिल्लाको समस्या समाधानका लागि पहल जारी राखेको जानकारी दिँदै मुलुकलाई निकास दिन संविधान संशोधन प्रस्ताव ल्याइएकाले परिमार्जन गरेर भए पनि पारित हुनसक्ने उहाँको भनाइ छ ।
विसं २०७४ सम्म तीनै तहको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता रहेको बताउँदै मन्त्री पाण्डेले वर्तमान सरकारको ध्यान निर्वाचन गर्नतिर केन्द्रित रहेको बताउनुभयो । रासस