फोहोर व्यवस्थापन गर्न एकिकृत योजना आवश्यक
कपन अनलाइन, काठमाडौँ, २ पुस ।
स्वास्थ्यमन्त्री गगनकुमार थापाले काठमाडौँ उपत्यकालाई एउटै इकाइको रुपमा विकास नगरेसम्म उपत्यकाको फोहोर व्यवस्थापन गर्न सम्भव नहुने बताउनुभएको छ ।
फोहोरमैला व्यवस्थापन सङ्घ नेपालको वार्षिक साधारण सभामा मन्त्री थापाले उपत्यकाको विकास र फोहोर व्यवस्थापन गर्नका लागि एकिकृत विकासको योजना अत्यन्तै आवश्यक रहेको जानकारी गराउनुभयो ।
काठमाडौँ उपत्यकामा बढी फोहोर सडक विस्तारको कारणले गर्दा भएको भन्दै उहाँले सडक विस्तारसँगै यातायातका साधन पनि दिनानुदिन वृद्धि भएकाले त्यसले झन विकराल समस्या उत्पन्न भएको औँल्याउनुभयो ।
कार्यक्रममा सांसद रामेश्वर फुयाँलले स्थानीय तहको निर्वाचन हुन नसकेसम्म देशमा कुनैपनि समस्याको समाधान नहुने भन्दै सर्वप्रथम निर्वाचन गर्न आवश्यक रहेको औँल्याउनुभयो ।
काठमाडौँ महानगरपालिका वातावरण महाशाखा प्रमुख गङ्गाधर गौतमले निजी क्षेत्रसँग सहकार्य गरी काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्न आफूहरू सधैँ तयार रहेको जानकारी दिँदै एकिकृत फोहोरमैला व्यवस्थापन गर्ने कार्य अन्तिमचरणमा पुगेको बताउनुभयो ।
सङ्घका अध्यक्ष टीकाराम दाहालले सार्वजनिक स्थानमा फोहोर फाल्ने व्यक्तिलाई फोहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार तत्काल कारबाही गरिने हो भने समस्या समाधान गर्न निकै सहज हुने धारणा राख्नुभयो । रासस