दाँते ओखरको गाउँमै नर्सरी
कपन अनलाइन, बझाङ, ७ मङ्सिर ।
अधिकांश समय भारतको पन्बमा रोजगारी गरेका गडराया गाविस– ४ का ६० वर्षीय डबु सार्की यतिबेला घरमै बसेर आम्दानी गरिरहेका छन् ।
घरमा खान लगाउन नपुग्ने भएपछि १० वर्षको उमेरमा बाबुसँगै भारत गएर रोजगारी गरेका सार्र्कीलाई अहिले पछुतो लागिरहेको छ । “घरमै लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भनेर थाहा पाएको भए भारतमा समय बिताउने थिइन,” उहाँले भन्नुभयो– “उहिल्यै यस्तो काम गरेको भए मनग्य आम्दानी गर्न सकिने थियो ।”
भारतबाट शरीरमा लगाएको एक जोर लुगा बाहेक केही ल्याउन नसकेको सार्की बताउनुहुन्छ । उहाँले आफूसँग भएको तीन रोपनी तथा अरु दुई रोपनी जमिन भाडामा लिएर तरकारीखेती गरिरहनुभएको छ । “तरकारीबाट वार्षिक रु एक लाख ५० हजारसम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो । गाउँकै सहकारीबाट मासिक तीन प्रतिशत ब्याजमा रु २५ हजार रकम लिई उहाँले तरकारीखेती सुरु गर्नुभएको हो । सार्कीले अहिले ‘एक घर एक बारी’ भन्दै बर्सेनि रायो, काउली, प्याज र गोलभेँडाका बिरुवा आफनो टोलमा वितरण गर्दै आउनुभएको छ ।
गाउँले सबै मुला र आलुको तरकारीमा निर्भर थिए । गोलभेँडा, काउली, रायो र प्याज लगाउने चलन थिएन । सार्कीले लगाउन थालेपछि उहाँकै सिको गरेर गाउँका अरुले पनि तरकारीखेती गर्न थालेका स्थानीयवासी हस्तु सुनार बताउनुहुन्छ । “गाउँमा अहिले युवाको तरकारीखेतीमा आकर्षण बढ्दै गएको छ,” उहाँले भन्नुभयो । तमैल बजार, कालुखेती र घाँट खोला बजारमा गडरायाका दलित परिवारले तरकारी बिक्री गर्दैैआएका छन् । उनीहरुले तरकारी पिठ्ठ्युमा बोकेर बजारसम्म पु¥याउने गरेका छन् ।
यसैगरी गडराय– ९ गोर्खाली गाउँका ३९ वर्षीय चन्द्रबहादुर सिंहले गाउँमै नर्सरी स्थापना गरी २५ हजार स्याउको तथा २० हजार दाँते ओखरका बिरुवा उत्पादन गर्नुभएको छ । “वार्षिक रु पाँच लाखदेखि रु ६ लाखसम्म घरमै बसिबसी आम्दानी गर्दैआएको छु,” उहाँले भन्नुभयो ।
उहाँ गाउँकै विद्यालयमा निजी स्रोतबाट शिक्षक समेत हुनुहुन्छ । “शिक्षण पेसाबाट चार वर्षमा कमाउने पैंसो नर्सरीबाट एक वर्षमै कमाउन सकियो,” उहाँले भन्नुभयो । शिक्षण पेसामा भन्दा कृषि पेसामा भविष्य रहेको उहाँ बताउनुहुन्छ । रासस