कृषि शिक्षामा आकर्षण बढ्दो
कपन अनलाइन, चितवन, १ मङ्सिर ।
खाद्य उत्पादनको महत्व बढ्दै जाँदा कृषि र भेटेरिनरी विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ ।
स्वदेश तथा विदेशमा सहज रोजगारीको अवसरसँगै व्यवसायसमेत गर्न सहज हुने भएपछि कृषि र भेटेरिनरी शिक्षामा विद्यार्थीको आकर्षण बढेको हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको कृषि सङ्कायको स्नातक तहमा तीन हजार नौ सय चारजनाले प्रवेश परीक्षा दिएका थिए । सङ्कायका सहायक डिन विष्णु ओझाका अनुसार सो सङ्कायमा रामपुरमा एक सय ६५ र कास्कीको पुरनचौरमा ५० जनाले मात्र अध्ययन गर्न पाउने छन् । गत वर्ष कृषि सङ्कायमा तीन हजार जनाले प्रवेश परीक्षा दिएका थिए । बर्सेनि कृषि पढ्न चाहनेको सङ्ख्या बढ्दो छ ।
त्यस्तै भेटेरिनरी र मत्स्य विज्ञानमा दुई हजार दुई सय ३५ जनाले आवेदन दिएकामा एक हजार सात सय ४७ जनाले प्रवेश परीक्षा दिएका छन् । जसमध्ये ५० ले भेटेरिनरीमा र १६ जनाले मत्स्य विज्ञानमा अध्ययन गर्न पाउने छन् । गत वर्ष ती दुवैमा एक हजार दुई सय ५० जनाले आवेदन दिएकामा एक हजार एक सय ८५ जनाले प्रबेश परीक्षा दिएका थिए ।
सो सङ्कायकी डिन डा शारदा थपलिया कृषि शिक्षाको महत्व बढ्दै जाँदा अध्ययनका लागि विद्यार्थीको चाप थपिँदै गएको बताउनुहुन्छ । विज्ञान विषयमा दश जोड दुई उत्तीर्ण गरी राम्रो अङ्क ल्याएका अधिकांशको चाहना कृषि र भेटेरिनरी शिक्षा बनेको छ । थपलियाका अनुसार प्रवेशिका परीक्षामा ८५ प्रतिशत र दश जोड दुईमा ७५ प्रतिशतभन्दा कम अङ्क ल्याएका विद्यार्थी उत्तीर्ण हुन सकेका छैनन् ।
कृषि र भेटेरिनरीमा उच्च शिक्षा सकेपछि स्वदेशमा नै रोजगार र व्यवसाय गर्ने प्रशस्त अवसर रहेको छ । विदेशका लागि पनि सहज अवसर हुन्छ । सोही विश्वविद्यालयका प्राध्यापक एवम् पूर्वरजिस्टार डा सूर्यकान्त घिमिरे विश्वका अधिकांश देशले भविष्यमा कसरी खाद्यान्न पु¥याउने भन्ने विषयमा चिन्तन थालेकाले कृषि शिक्षाको महत्व दिनानुदिन बढ्दै गएको बताउनुहुन्छ ।
कृषि शिक्षा अध्ययन गरेका जो कोही पनि बेरोजगार नरहेको भन्दै उहाँले आवश्यक जनशक्ति पूर्ति हुन नसकेको बताउनुभयो । स्वास्थ्य विज्ञान शिक्षा महँगो भएकाले पनि कृषि शिक्षातर्फ विद्यार्थीको आकर्षण बढेको बताइन्छ । रासस