विष्णु र तुलसीलाई विवाह गरिने हरि बोधिनी एकादशी देशभर मनाइदै
कपन अनलाइन, काठमाडौँ, २६ कात्तिक ।
कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ ।
आजको दिन अन्न खान नहुने भएकाले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी ब्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी ब्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।
कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग शास्त्रमा वर्णन गरिएको छ । आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेष नारायण, इचँगुनारायण र विशङ्खुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण स्थान र मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।
यस वर्ष बिहीबार दिउँसोदेखि एकादशी तिथि लाग्ने भएकाले स्मृतिलाई आधार मानी कर्म गर्ने स्मार्तहरुले हिजो र वेदलाई आधार मानी कर्म गर्ने वैदिक धर्मानुयायीले आज शुक्रबार ब्रत गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
“सूर्योदय हुनुअघि दशमीले छोएको दिनको एकादशी स्मार्तले र सूर्योदयमा एकादशी तिथि रहेको एकादशी वैष्णवले मान्ने गर्छन्, त्यसैले पञ्चाङ्गमा दुवै दिन दुई थरीको एकादशी उल्लेख गरिएको छ” ।