स्कुसबाट आम्दानी नै आम्दानी !

स्कुसबाट  आम्दानी नै आम्दानी !

chuchu_feira

कपन अनलाइन, १७ कात्तिक २०७३

स्कुस बिक्री गरेर पूर्वी इलामका श्रीअन्तु तथा समालबुङ गाविसका बासिन्दाले लाखौँ रूपैयाँ आम्दानी गरेका छन् । स्कुसबाट एउटै कृषकले रु दुई लाखदेखि रु तीन लाखसम्म आम्दानी गर्ने गरेका छन् । श्रीअन्तु गाविस–२ का गीता घिमिरेले यस वर्ष स्कुस प्रतिमन रु २५० देखि रु ३०० सम्ममा बिक्री गरेको बताउनुहुन्छ । “गाउँमा किसानले एउटै याममा रु दुई लाख ५० हजारदेखि रु तीन लाखको स्कुस बेच्ने गरेका छन्,” उहाँले भन्नुभयो ।

श्रीअन्तु र समालबुङमा उत्पादित स्कुसको बजार भारतको मिरिक, दार्जिलिङ र सिलिगुडी हो । नेपालको फिक्कल, इलाम र विर्तामोडमा समेत स्कुस बिक्री हुन्छ । यहाँ नेपाली र भारतीय दुवैतिरका व्यापारी गाउँगाउँमै पुगेर पनि स्कुस खरिद गर्ने गर्छन् । त्यसका अलावा कृषक आफैँले बजारसम्म पु¥याएर पनि बिक्री गर्ने गरेका छन् । भारततिर जाने स्कुस कृषक वा व्यापारीले मेची खोलासम्म घोडा वा गाडीमा पु¥याउने गरेका छन् । त्यहाँबाट ठूला गाडीमा भारतीय बजारसम्म व्यापारीले लाने गरेका समालबुङ–१ का नारद खड्काले बताउनुभयो । किसानले उत्पादन गरेको स्कुस घरबाटै प्रतिमन रु २५० देखि रु ४०० सम्ममा बिक्री गर्ने गरेका छन् ।

श्रीअन्तु र समालबुङमा मात्रै स्कुसबाट वार्षिक करोडौँ रुपैयाँ भित्रिने गरेको छ । यहाँबाट भारत र नेपालका बजारमा करिब दुई लाख मनभन्दा बढी स्कुस जाने गरेको छ । स्कुसलाई बाँसको मचान बनाइदिए पुग्ने र गोडमेल तथा थप हेरचाहको झन्झट नहुने हुँदा स्कुस उत्पादनमा कृषकको आकर्षण बढ्दो छ । अन्तु समालबुङ क्षेत्र चिसो भएको हुँदा बेलाबेला मलखाद लगाएर पुग्दो मचान दिए फल टिप्न मात्र गए हुने स्कुसको बजार पनि सहज भएकाले कृषक यसको उत्पादनबाट सन्तुष्ट छन् । श्रीअन्तु समालबुङ जस्तै पूर्वी इलामका सूर्योदय नगरपालिकासहित गोदक, कोल्बुङ, जिर्मले, पशुपतिनगर गाविसमा स्कुस अत्यधिक उत्पादन हुन्छ ।

तपाइँको प्रतिक्रिया ।