बुधबार टोखामा तुच्चा खाने निम्तो
कपन अनलाइन, ७ कात्तिक, २०७३
“न्हुदया भिन्तुना” नेपाल सम्बत ११३७ को अवसरमा काठमाडौंको पुरानो तथा पुरातात्विक सहर टोखामा विशेष कार्यक्रम आयोजना गरिने भएको छ । नेवारी परिकार तुच्चासहित बिभिन्न खानेकुरा कार्यक्रमको निम्तोमा महत्व दिइएको छ । तुच्चा भन्नाले समयबजीको परिकार बुझिन्छ। कात्तिक १० गते बुधवार आयोजना हुने यो शुभकामना कार्यक्रमलाई सगुनको रुपमा तुच्चासहितको जलपानको कार्यक्रमनलाई प्रमुखताका साथ राखिएको छ । कार्यक्रमलाई नेपाली कांग्रेस टोखा नगरपालिका वडा नं. ३,४,५ र ६ ले संयुक्तरुपमा आयोजना गरेको हो । कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री सशांक कोइराला प्रमुख अतिथिरुपमा आउने कार्यक्रम आयोजकको तर्फबाट महाधिवेशन प्रतिनिधि मनिष जोशीले कपन अनलाइनलाई बताए । कार्यक्रममा काठमाडौं जिल्लाको क्षेत्र नं. ४,५ र ६ का पार्टी कार्यकर्ता तथा सर्वसाधरणलाई निम्तो गरिएको जोशीले बताए । कार्यक्रममा ६०० जनाको सहभागिता रहने बताइएको छ ।